कञ्चन आवाज समाचारदाता बेलौरी (कञ्चनपुर), ७ जेठ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वर्ष पूरा गरी ३३ औँ वर्षमा प्रवेश गरेको अवसरमा कञ्चनपुरको बेलौरी शाखामा एक संक्षिप्त समारोहका बीच वार्षिकोत्सव मनाएको छ । “सबल बैंक, सफल वित्तीय यात्रा” भन्ने मूल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको बेलौरी शाखा कार्यालयमा केक काटेर उत्सव मनाइएको हो ।

वार्षिकोत्सव कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख खगेन्द्र बहादुर साउद प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमका सभापति एवं महालक्ष्मी विकास बैंक बेलौरी शाखाका प्रबन्धक डम्बर ओझाले बेलौरीबासी ग्राहक, उद्योगी, व्यवसायी र शुभचिन्तकहरूबाट प्राप्त निरन्तर सहयोगका लागि हार्दिक आभार प्रकट गर्नुभयो । शाखा प्रबन्धक ओझाले स्थानीय ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा सुरक्षित, भरपर्दो र परिष्कृत बैंकिङ सेवा प्रवाह गर्न बेलौरी शाखा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

समारोहमा स्थानीय व्यवसायी, बिमा कम्पनीका प्रतिनिधि, बैंकका कर्मचारी, पुराना ग्राहक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सरोकारवालाहरूले बैंकको सेवा प्रवाह र समुदायप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै आगामी सफल यात्राको शुभकामना व्यक्त गरे ।
विक्रम संवत् २०५२ सालमा स्थापना भएको महालक्ष्मी विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको विकास बैंक हो । हाल यस बैंकले देशका विभिन्न भागमा रहेका शाखाहरू मार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।





