बेलौरी, कञ्चनपुर।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारणसभाका अवसरमा कञ्चनपुरका क्रियाशील पत्रकार हरिश चन्द्र बाग युवा पत्रकारिता सम्मान २०८३ बाट सम्मानित हुनुभएको छ। सुदूरपश्चिम क्षेत्रको सञ्चार जगतमा उहाँले पुर्याएको निरन्तर र उल्लेखनीय योगदानको उच्च कदर गर्दै महासंघको जिल्ला कार्यसमितिले यस वर्षको प्रतिष्ठित युवा पत्रकारिता सम्मान प्रदान गरेको हो।
विगत लामो समयदेखि कञ्चनपुरलाई मुख्य कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय बाग हाल कान्तिपुर टेलिभिजन, रेडियो नेपाल र ऐन बि मिडिया नेटवर्कमा आबद्ध हुनुहुन्छ। मोफसलमा रहेर व्यावसायिक र उत्तरदायी सञ्चारकर्ममार्फत स्थानीय विकास, सुशासन एवं नागरिकका आधारभूत समस्या उजागर गर्न उहाँको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।
सम्मान ग्रहण गरेपछि पत्रकार बागले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा र सम्पूर्ण कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले प्राप्त सम्मानले पत्रकारिताप्रतिको जिम्मेवारी र उत्तरदायित्व अझ बढाएको महसुस गरेको बताउनुभयो। यो सम्मान आफ्ना सहकर्मी, समाचार स्रोत, शुभेच्छुक, परिवारजन र विश्वास गर्ने आम पाठक, श्रोता तथा दर्शक सबैको साझा प्रेरणा भएको उहाँले उल्लेख गर्नुभयो।





