पुनर्वास, कञ्चनपुर।
१५ जेठ २०८३
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित दोधा नदीमा एक्कासि आएको बाढीका कारण सीमा स्तम्भ डुब्नुका साथै नदीपारि थुनिएका पाँच जना स्थानीय महिलाको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ। बिहीबार अपराह्न नदीमा पानीको बहाव उच्च भएपछि घाँस–दाउरा गर्न गएका उनीहरू पारिपट्टि अलपत्र परेका थिए।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति प्रहरी नायक उपरीक्षक योग्य बस्नेतका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ९ को सीताबस्तीस्थित दोधा नदीमा बिहीबार अपराह्न ४:४० बजे आकस्मिक रूपमा पानीको बहाव बढेको थियो। बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भ नम्बर ७५९ समेत पूर्ण रूपमा डुबानमा परेको थियो। नदीमा पानीको सतह बढेसँगै पारिपट्टि जंगल क्षेत्रमा गएका महिलाहरू फर्कन नसकी टापुमा थुनिएका थिए।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) बिचफाँटाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शान्त बहादुर सुनारको कमाण्डमा सात जनाको उद्धार टोली कार्यक्षेत्रमा खटिएको थियो। उद्धार टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा विपद् उद्धार सामग्रीहरू डोरी, ट्युब र लाइफ ज्याकेटको प्रयोग गरी झन्डै एक घण्टा लामो प्रयासपछि साँझ ५:३० बजेभित्र सबै महिलालाई सकुशल नदी पार गराउन सफल भएको हो।
उद्धार गरिएकाहरूमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकड बस्ने ३५ वर्षीया जनैमती राना, ४५ वर्षीया रामबेटी राना, २८ वर्षीया रबिना राना, २१ वर्षीया संगिता राना र २४ वर्षीया देवकी राना रहेका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उद्धारपश्चात् सुरक्षित रूपमा पारिवारिक जिम्मा लगाइएको सुरक्षा निकायले जनाएको छ।
वर्षातको समय सुरु हुनै लाग्दा सुदूरपश्चिमका सीमावर्ती नदीहरूमा आकस्मिक रूपमा बहाव बढ्ने समस्याले तटिय क्षेत्रका बासिन्दाहरू सधैं जोखिममा पर्ने गरेका छन्। स्थानीय तह र सुरक्षा निकायले विपद् व्यवस्थापनका पूर्वतयारी सामग्री चुस्त राखेका कारण यस पटक सम्भावित ठूलो मानवीय क्षति टरेको छ।





