बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहाबाट प्रहरीले खुद तौल ३ ग्राम ६६० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले जेठ १९ गते बिहान करिब साढे आठ बजेको समयमा पौलाहा क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ खैरीघाट बस्ने १८ वर्षीय दान सिंह रोकाया र सोही गाउँपालिका वडा नम्बर ३ कमरीबोट बस्ने १६ वर्षीय एक किशोर रहेका छन्।
प्रहरीका अनुसार कलकत्ता क्षेत्रबाट बेलौरीतर्फ पैदल आउँदै गरेका उनीहरूको चालचलन शंकास्पद देखिएपछि प्रहरी टोलीले रोकेर खानतलासी गरेको थियो। सोही क्रममा दान सिंह रोकायाले आफ्नो दाहिने हातको मुट्ठीभित्र लुकाइछिपाई राखेको अवस्थामा सेतो प्लास्टिकको एउटा पोका फेला परेको थियो। उक्त पोका खोलेर हेर्दा खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेपछि दुवै जनालाई वस्तुसहित नियन्त्रणमा लिइएको हो।
हाल लागुऔषधसहित समातिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा राखेर थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।





