कञ्चनपुर, २३ जेठ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न विद्युतीय सामानसहित एउटा भारतीय कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त जानकारी अनुसार प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ६ बनगाउँस्थित सडक खण्डबाट उक्त सामग्री र गाडी बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर १ का बासिन्दा डम्बर चन्दले चलाएको युके ०४ एन २२५५ नम्बरको भारतीय टोयोटा कारलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गर्दा भन्सार छलीका सामान फेला परेका हुन्। उक्त कारभित्र अवैध रूपमा लुकाईछिपाई ल्याइँदै गरेका सामानहरू फेला परेपछि प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा लोटस कम्पनीको वाल फ्यान १० थान, सिलिङ फ्यान ६ थान, एलइडी बल्ब ४४ थान र तीन पिस कलर लाइट रहेका छन्। बरामद गरिएका सम्पूर्ण विद्युतीय सामान र भारतीय कारको कुल अनुमानित बजार मूल्य १३ लाख ९७ हजार ७ सय ८० रुपैयाँ बराबर कायम गरिएको छ।
पक्राउ परेका चालक डम्बर चन्दसहित बरामद गरिएका सामान र सवारी साधनलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।





