स्वस्थ र समृद्ध बेलौरीका लागि ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान’ सुरु: सरोकारवालाहरूद्वारा सामूहिक प्रतिवद्धता

बेलौरी, कञ्चनपुर ।

“म स्वस्थ, मेरो समुदाय स्वस्थ: स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने मूल नाराका साथ कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान २०८३’ अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। बेलौरी नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा उक्त अभियान सुरु गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले अभियानका क्रममा व्यक्त गरिएका प्रतिवद्धताहरूलाई पूर्ण रूपमा व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो। जनप्रतिनिधि, कर्मचारी, स्वयंसेविका, शिक्षक, र पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरूलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले भन्नुभयो, “आज यस विशेष कार्यक्रममार्फत नसर्ने रोगहरू के हुन् र तिनलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा बृहत र महत्त्वपूर्ण छलफल भएको छ। यस क्रममा हामी सबैले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिसकेका छौँ।”

उहाँले थप जोड दिँदै भन्नुभयो, “यो प्रतिवद्धता केवल कागजमा मात्र सीमित हुनु हुँदैन। यसलाई पूर्ण रूपमा पालना गर्न र सार्थक बनाउनका लागि हामी जो–जसले जहाँबाट जुन भूमिका निर्वाह गर्नुपर्ने हो, आ आफ्नो ठाउँबाट लागू गरेर देखाउनु पर्छ।”

कार्यक्रममा प्रशिक्षकका रूपमा उपस्थित जिल्ला स्वास्थ्य कार्यालयका सिद्धराज भट्टले नसर्ने रोगको रोकथामलाई विश्वव्यापी अभियान र दिगो विकास लक्ष्य (SDG) सँग जोडेर प्रकाश पार्नुभएको थियो। उहाँले हाल सञ्चालित यो अभियान दिगो विकास लक्ष्यको स्वास्थ्य सम्बन्धी निश्चित परिमाण हासिल गर्ने उद्देश्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको जानकारी दिनुभयो।

प्रशिक्षक भट्टका अनुसार संयुक्त राष्ट्र संघ (UN) द्वारा तय गरिएका स्वास्थ्य सम्बन्धी लक्ष्यहरू प्राप्त गर्न नेपाल सरकारले आफ्ना राष्ट्रिय रणनीतिहरू यसैलाई केन्द्रमा राखेर अगाडि बढाइरहेको छ। उहाँले नसर्ने रोगको विश्वव्यापी र स्थानीय स्तरको अवस्था तथा यसको रोकथामका उपायहरूका बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा ‘स्वस्थ बेलौरी’ निर्माणको महाअभियानमा हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै विभिन्न क्षेत्र र समूहको प्रतिनिधित्व गर्दै सरोकारवालाहरूले आफ्नो भनाइ राखेका थिए। प्रतिवद्धता व्यक्त गर्नेहरूमा:सुरेन्द्र बिष्ट, विष्णुमाया पार्की, रत्ना चौधरी,विष्णु अवस्थी, देवकी पाण्डेय, गोविन्द सापकोटा,हरिश प्रसाद ओझा,प्रहरी प्रतिनिधि बिर सिंह धामी,विमला बजगाई लगायत पत्रकार प्रतिनिधि मोहन विष्ट हुनुहुन्थ्यो।

उहाँहरूले स्वास्थ्य शाखाको यस सकारात्मक कदमलाई समुदायस्तरसम्म पुर्‍याउन र आफ्नो क्षेत्रबाट आवश्यक सचेतना जगाउन नेतृत्वदायी भूमिका खेल्ने सामूहिक प्रतिवद्धता जनाउनुभयो।

शाखाका मान बहादुर चन्दले समुदायमा वर्तमान जीवनशैलीलाई परिवर्तन गर्न र आउँदो पिँढीलाई नसर्ने रोगहरूबाट बचाउनु नै यस अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार यस अभियान अन्तर्गत समुदायमा नसर्ने रोगहरूको पहिचानका लागि प्रारम्भिक परीक्षण (स्क्रिनिङ) गरिनेछ र रोग पत्ता लागेका बिरामीहरूलाई आवश्यक औषधि उपचारका लागि उपयुक्त स्वास्थ्य संस्थामा प्रेषण (रेफर) गरिने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य शाखाले मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) लगायतका नसर्ने रोगको औषधि ख्याल ख्यालमा बीचमै नछाड्न र चिकित्सकको सल्लाह बमोजिम नियमित सेवन गर्न समेत आग्रह गरेको छ।

कार्यक्रममा उपस्थित तर हालसम्म आफ्नो स्वास्थ्य परीक्षण नगराएका सरोकारवालाहरूका लागि कार्यक्रम स्थलमै रक्तचाप (प्रेसर), बीएमआई (BMI), सुगर, तथा पिसाबको निःशुल्क जाँच गर्ने व्यवस्था समेत मिलाइएको थियो।

अत्यधिक गर्मी मौसमका बावजुद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र विभिन्न सरोकारवालाहरूको उत्साहजनक एवं धैर्यतापूर्वक सहभागिता रहेको थियो। कार्यक्रमको अन्तिम चरणमा उपस्थित सम्पूर्ण पक्षहरूका तर्फबाट सामूहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै कार्यक्रमको समापन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ