कञ्चनपुर दक्षिणी क्षेत्रका विभिन्न सीमा नाकाबाट लाखौँको अवैध सामान बरामद, पेय पदार्थ र अण्डा नष्ट

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरका विभिन्न सीमा नाकाबाट सशस्त्र प्रहरी बलले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरका विभिन्न सामग्रीहरू बरामद गरेको छ। यही असार १५ गते जिल्लाका छुट्टाछुट्टै सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका मोबाइल गस्ती टोलीले ती अवैध सामानहरू नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी स्रोतका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ‘घ’ गाउँ सीमा इलाकाबाट ठूलो परिमाणमा प्रतिबन्धित पेय पदार्थ र अण्डा बरामद गरी नष्ट गरिएको छ। बोडर आउट पोष्ट (बीओपी) आँपतालबाट सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द बीकको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १५० लिटर ड्यू पेय पदार्थ र ३० क्यारेट अण्डा नियन्त्रणमा लिएको हो। अनुमानित २७ हजार रुपैयाँ मूल्य बराबरका ती सामग्रीहरू स्थानीय सरोकारवालाहरूको रोहवरमा नष्ट गरिएको छ।

यसैगरी पुनर्वास नगरपालिका वडा नम्बर ९ बिल्लुघाट सीमा इलाकामा पनि बीओपी बिचफाँटाको टोलीले अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक शान्त बहादुर सुनारको नेतृत्वमा खटिएको पाँच सदस्यीय गस्ती टोलीले भारतबाट नम्बर नखुलेको मोटरसाइकलमा राखेर भित्र्याउँदै गरेको ७० लिटर ड्यू पेय पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिएको हो। बरामद गरिएको पेय पदार्थ नष्ट गरिएको छ भने मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। उक्त सामग्री र मोटरसाइकलको कुल मूल्य १ लाख ७ हजार रुपैयाँ कायम गरिएको छ।

त्यस्तै कञ्चनपुरकै लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा इलाकाबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेका लत्ताकपडा बरामद गरेको छ। बीओपी दोधाबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमसिंह धामीको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले भारतबाट अवैध रूपमा ल्याइएको ३४ जोर लेडिज कुर्ता सेट बरामद गरेको हो। बरामद गरिएको कुर्ता सेटको बजार मूल्य ८५ हजार रुपैयाँ रहेको र उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ