कञ्चनपुर ।
कञ्चनपुर होटल व्यवसायी संघको समन्वय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा होटल व्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिवसीय सामाजिक सञ्जाल तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ। बदलिँदो डिजिटल युगमा प्रविधिको उच्चतम प्रयोग गरी स्थानीय पर्यटन र होटल व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

तालिम समापनका अवसरमा कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मीले परिवर्तित परिस्थिति अनुरूप डिजिटल माध्यम र एआईका विभिन्न टुलहरू प्रयोग गरेर आफ्नो व्यवसायको प्रचारप्रसार तथा बजार व्यवस्थापन (मार्केटिङ) गर्न व्यवसायी आफैँलाई सक्षम बनाउनु तालिमको मुख्य उपलब्धि भएको बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशमै व्यवसायीहरूलाई लक्षित गरेर एआई सम्बन्धी तालिम आयोजना गरिएको यो पहिलो पटक भएको जानकारी दिनुभयो। नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा यस्ता प्रविधिमैत्री कार्यक्रम गर्ने लक्ष्य राखेकोमा सुदूरपश्चिम प्रदेशको जिम्मेवारी कञ्चनपुर होटल व्यवसायी संघले पाएको र यसले व्यवसायीहरूमा प्रविधिको विकासमा नयाँ उत्साह थपेको अध्यक्ष रेग्मीको भनाइ थियो।
दुई दिनसम्म चलेको उक्त तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासलाई विशेष जोड दिइएको थियो। सहभागी व्यवसायी तथा उनीहरूका कक्षा १२ र १३ मा अध्ययनरत् छोराछोरीहरूले प्रशिक्षकको सहजीकरणमा आफ्नो व्यवसायको फोटो, भिडियो र पोस्टरहरू आफैँ बनाएर प्रयोगात्मक अभ्यास गरेका थिए। प्रतिकूल मौसमका बाबजुद पनि कञ्चनपुर र कैलालीका धनगढी एवं सुखड क्षेत्रका गरी ५२ जना व्यवसायीहरूको तालिममा सक्रिय सहभागिता रहेको थियो।
प्रविधिको प्रयोगसँगै होटल व्यवसायको मेरुदण्ड मानिने आतिथ्यता व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) र ग्राहक सेवाका विषयमा पनि तालिममा सघन विमर्श भएको थियो। बाहिरबाट आउने पर्यटक वा अतिथि पहिलो पटक होटल व्यवसायीसँग नै ठोकिने भएकाले व्यवसायीले गर्ने शिष्ट व्यवहार, सरसफाइ र सकारात्मक सत्कारले समग्र क्षेत्रको छवि निर्माणमा ठूलो भूमिका खेल्ने कुरामा अध्यक्ष रेग्मीले जोड दिनुभयो।
प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको यस कार्यक्रमको समापन सत्रमा मुख्य प्रशिक्षकलाई नै प्रमुख अतिथि बनाएर सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। संघले हाल प्राथमिक तहको डिजिटल सीप प्रदान गरेको र आगामी वर्षहरूमा यसलाई थप परिष्कृत गर्दै उच्च तह (एडभान्स लेभल) को तालिम सञ्चालन गर्न सरकार तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्ने योजना बनाएको छ। वर्तमान समयमा आधुनिक डिजिटल प्रविधिको सही उपयोग बिना व्यावसायिक सफलता सम्भव नरहेको धारणा व्यक्त गर्दै संघले सहयोगी निकाय पर्यटन बोर्डप्रति आभार समेत प्रकट गरेको छ।





