बेलौरी (कञ्चनपुर) । कञ्चनपुरको दक्षिण क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बेलौरीमा बेलौरी उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि प्रकाशराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। पन्तको नेतृत्वमा नयाँ पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र सिंह बडाल, उद्योग उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, कोषाध्यक्षमा रघुवीर भण्डारी र सचिवमा रिता चौधरी चयन हुनुभएको छ। यसैगरी संघको सदस्यहरूमा कैलाश सिंह बिष्ट, यमबहादुर खत्री, विष्णुमाया अर्याल, बासुदेव भट्ट ‘सीतल’, दिनेश चौधरी, अलोना श्रेष्ठ, तारा सिंह बिष्ट र अशोक चौधरी सर्वसम्मत चुनिनुभएको छ।

नयाँ नेतृत्व सर्वसम्मत चुनिए तापनि संघको आन्तरिक अवस्था र व्यवसायीहरूको घट्दो आकर्षणलाई लिएर साधारण सभामा गम्भीर समीक्षा र चिन्ता व्यक्त गरिएको छ। विशेष गरी सदस्यहरूको उपस्थिति र सदस्यता नवीकरणको तथ्याङ्क कमजोर देखिएको छ। स्रोतका अनुसार विगतका साधारण सभाहरूमा ५०० भन्दा बढी र कुनै समय १ हजार २०० जनासम्म व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहने गरेको थियो। तर, यस पटकको पाँचौं साधारण सभामा केवल १०३ जना मात्र उपस्थित भएको निवर्तमान अध्यक्ष हिरा सिंह विष्टले जानकारी दिनुभयो। तथ्याङ्कअनुसार हाल संघमा जम्मा १७४ जना व्यवसायीले मात्र आफ्नो सदस्यता नवीकरण गराएका छन्, जसले स्थानीय व्यवसायीहरूमा संघप्रतिको उदासीनता बढेको संकेत गरेको छ।

साधारण सभा सम्पन्न भए पनि स्थानीय राजनीतिक वृत्त र केही व्यवसायीहरूले भने कार्यक्रमको लोकतान्त्रिक मूल्य मान्यता र समावेशितामाथि गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले साधारण सभा जस्तो गरिमामय मञ्चमा राजनीतिक दलहरू कसैलाई पनि आफ्ना कुरा वा विचार राख्न नदिइएको दाबी गर्दै कार्यक्रममा देखिएको निराशाजनक उपस्थितिले नै वर्तमान नेतृत्व र कार्यशैलीप्रति आम व्यवसायीको धारणा कस्तो छ भन्ने कुरा प्रष्ट पारेको टिप्पणी गर्नुभयो।
नेतृत्व सर्वसम्मत चयन भए पनि घट्दो व्यावसायिक सहभागितालाई पुनर्जीवित गर्नु, व्यावसायिक एकता कायम गर्नु र सरोकारवालाहरू सँगको समन्वयलाई सन्तुलित बनाउनु नवनिर्वाचित अध्यक्ष प्रकाशराज पन्त र उनको टोलीका लागि मुख्य चुनौती देखिन्छ।





