बेलौरी, कञ्चनपुर।
गत वर्ष देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यको माग राख्दै युवाहरूले गरेको ऐतिहासिक जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा सरकारले भदौ २३ गतेलाई ‘जेन्जी सहिद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक शोक बिदा दिएको छ।
सुशासन र व्यवस्था सुधारको संकल्पसहित भएको उक्त जनआन्दोलनका क्रममा देशैभर गरेर ७६ जना होनहार युवाहरूले आफ्नो जीवन उत्सर्ग गरेका थिए भने सयौँ नागरिक घाइते भएका थिए।
यसै सन्दर्भमा कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा पनि जेन्जी आन्दोलनका अमर सहिदहरूप्रति सम्मान व्यक्त गर्न श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। जेन्जी समर्थक तथा अभियन्ता विष्णु अवस्थीका अनुसार बेलौरी नगरपालिका वडा नम्बर चारस्थित बजार क्षेत्रको तौला राना चोकमा आज साझ ५:३० बजे विशेष श्रद्धाञ्जली कार्यक्रम राखिएको छ।
अभियन्ता अवस्थीले आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको आत्माको चिरशान्तिको कामना गर्दै स्थानीय नागरिक, युवा तथा सरोकारवालाहरूलाई उक्त सभामा उपस्थित भएर सहिदहरूप्रति ऐक्यबद्धता र सम्मान प्रकट गर्न आह्वान गर्नुभएको छ।





