फाइल तस्बिर।
धनगढी, २१ असार
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित मोहना नदीमा आइतबार दिउँसो एक किशोरको शव फेला परेको छ। दुई दिनअघि कञ्चनपुरको पुनर्वासबाट नदीमा परेर बेपत्ता भएका १५ वर्षीय अजय चन्दको शव नदी किनारमा बगिरहेको अवस्थामा फेला परेको हो।
स्थानीय त्रिवेणीघाट क्षेत्रमा माछा मार्ने व्यक्तिहरूले नदीमा मानव शव तैरिरहेको देखेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट (बीओपी) नल्काघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक टेकेन्द्र गिरीको कमाण्डमा खटिएको १० जनाको टोलीले दिउँसो ३ बजे शवलाई नदी किनारमा निकालेको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी शान्तिनगरबाट प्रहरी सहायक निरीक्षक जितबहादुर रावलको नेतृत्वमा ५ जनाको टोली पनि घटनास्थलमा परिचालन भएको थियो।
सुरक्षा स्रोतका अनुसार मृतक किशोर गत असार १९ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित मोहना नदीकै काठेपुलबाट बेपत्ता भएका थिए। किशोर बेपत्ता भएदेखि नै खोजी कार्य जारी राखिएकोमा आइतबार नदीमा शव भेटिएपछि घटनास्थल पुगेका आफन्तजनले मृतक अजय चन्द नै रहेको भनी पहिचान गरेका हुन्।





