बेलौरी नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको बेलौरी नगरपालिकामा ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरिएको छ। नगरपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आज एक औपचारिक समारोहका बीच नगरभित्रका कृषकहरूलाई आधुनिक कृषि उपकरणहरू हस्तान्तरण गरिएको हो।

कृषि विकास शाखाका अनुसार चालू आर्थिक वर्षको यस कार्यक्रमका लागि गत २०८२ कात्तिक ३० गते सार्वजनिक सूचना जारी गरिएको थियो। सो अवधिमा नगरभरिबाट करिब १२ सय किसानहरूको आवेदन प्राप्त भएकोमा नगरपालिकाको आर्थिक विकास समिति र जनप्रतिनिधिहरूको समन्वयमा गहन अध्ययन गरी पहिलो चरणमा १८२ जना कृषकहरू छनोट गरिएको थियो।

कार्यक्रममा वितरण गरिएका सामग्रीहरूमा साना तथा ठुला व्यावसायिक किसानहरूको माग अनुसार २ हर्सपावरका ९२ थान मोटर, ८ हर्सपावरका १७ थान डिजेल वाटर पम्प र ९ हर्सपावरका १० थान मिनी टिलर रहेका छन्। त्यस्तै ६ फिटका ५ थान रोटाभेटर, १० थान कल्टिभेटर, २२ हर्सपावरका १० थान पावर टिलर, उखुको पात काटेर कम्पोस्ट बनाउने १ थान सुगरक्याम मल्चर, २ थान सिंगल प्लाउ राजा हल, २ थान पेडी रिपर, ३ थान पावर स्प्रेयर, ५ थान कम्बाइन मिल, २ थान चार चक्के मिनी टिलर, १ थान क्याज्विल, १ थान ल्यान्ड लेजर लेभलर, ९ थान रिगर र ५ थान ट्रेन्चर समेत वितरण गरिएको छ।

खरिद प्रक्रियालाई पारदर्शी बनाउन सवारी परीक्षण कार्यालय अत्तरियाका मेकानिकल इन्जिनियर सतवीर रानाको प्राविधिक सहयोगमा ईबिडिङमार्फत बोलपत्र आह्वान गरिएको थियो। न्यूनतम मूल्य प्रस्ताव गर्ने झलारीको आरसीटी एग्रो इन्टरप्राइजेज आपूर्तिदाताका रूपमा छनोट भई ती सामग्रीहरू उपलब्ध गराएको कृषि विकास शाखा प्रमुख सुमन राज जोशीले जानकारी दिनुभयो। विगत दुई वर्षदेखि कतैबाट पनि अनुदान नपाएका र खेतीको प्रकृति अनुसार उपयुक्त मापदण्ड पुगेका किसानलाई मात्र यो सहयोग उपलब्ध गराइएको प्रमुख जोशीले स्पष्ट पार्नुभयो।

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम राज जोशीको अध्यक्षतामा सम्पन्न उक्त वितरण समारोहमा नगर प्रमुख पोतिलाल चौधरी मुख्य अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख जोगराम चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नगर प्रवक्ता हर्क बहादुर भुल, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकाल, वडा नम्बर ६ का वडा अध्यक्ष भोजराज चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष बिश्राम राना,  र वडा नम्बर १० का वडा अध्यक्ष सोमलाल चौधरीको सहभागिता रहेको थियो।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत लोकराज जोशी, लेखा अधिकृत ओम प्रसाद उपाध्याय, कार्यपालिका सदस्य आरती चौधरी, नगर कृषक समन्वय समितिका अध्यक्ष गणेश कुँवर सहित स्थानीय कर्मचारी, सञ्चारकर्मी तथा कृषकहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सुशिला बोहरा र गीता जैसीले खादा लगाएर अतिथिहरूको स्वागत गर्नुभएको थियो भने ब्यानर वाचन गरी उद्घाटन गरिएको सत्रमा किसानका तर्फबाट वडा नम्बर ३ कृषक समन्वय समितिका अध्यक्ष फूलचरण चौधरीले स्वागत  मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ