बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका वार्ड नम्बर ६ का स्थानीय जग्गाधनीहरूले आफ्नो क्षेत्रको जग्गाको न्यूनतम सरकारी मूल्यांकन वैज्ञानिक र व्यावहारिक नभएको भन्दै तत्काल पुनरनिर्धारण गर्न माग गरेका छन्। भारतीय सीमासँग जोडिएका तथा बाढीको उच्च जोखिममा रहेका क्षेत्रका कृषियोग्य जमिनको मूल्यांकन हचुवाका भरमा बजार क्षेत्र सरह तोकिएको भन्दै स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्। वास्तविक फिल्ड सर्वेक्षणका आधारमा मर्कामा परेका किसान तथा सर्वसाधारणलाई न्याय दिलाउन माग गर्दै स्थानीयबासीले बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष संयुक्त हस्ताक्षर सहितको लिखित निवेदन दर्ता गराएका छन्।

विशेष गरी बेलौरी ६ अन्तर्गत पर्ने नयाँगाउँ, खोप्टे, आमबाग र भन्सार लगायतका क्षेत्रका कृषि योग्य जमिनहरू भारतीय सीमानाको अत्यन्तै नजिक रहेका छन्। यी अधिकांश जग्गाहरू सीमा क्षेत्रबाट १ किलोमिटर भित्र पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरूले धितोका रूपमा स्वीकार गर्न समेत मानेका छैनन्। सीमावर्ती असहज अवस्था र प्राकृतिक जोखिमका कारण यस क्षेत्रमा जग्गाको खरिदबिक्री शून्य प्रायः रहेको स्थानीयको गुनासो छ। कतिपय अवस्थामा फाट्टफुट्ट रूपमा हुने जग्गाको वास्तविक औसत खरिदबिक्री मूल्य प्रति कठ्ठा २० हजार रुपैयाँ मात्र रहेको अवस्थामा सरकारी मूल्यांकन भने अत्यधिक तोकिँदा स्थानीय बासिन्दा मारमा परेका हुन्।

निवेदनमा उल्लेख भए अनुसार बाटो नभएका जग्गाको समेत न्यूनतम औसत मूल्यांकन १ लाखदेखि २ लाख रुपैयाँसम्म कायम गरिएको छ। बेलौरी बजारसँग जोडिएका र १ किलोमिटर दुरी भित्र पर्ने सुगम क्षेत्रका जग्गाहरूको तुलनामा सीमा क्षेत्रका विकट एवं जोखिमयुक्त जग्गालाई पनि सोही सरह हचुवाका भरमा बराबर मूल्यांकन गरिए पछि स्थानीय स्तरमा तीव्र असन्तुष्टि बढेको हो। वास्तविक धरातल र बजारको अवस्था विपरीत प्रशासनिक तवरबाट तोकिएको यस्तो मूल्यांकनले जग्गाधनीहरूलाई ठुलो आर्थिक मर्का परेको भन्दै स्थलगत निरीक्षण गरी तत्काल मूल्यांकन सच्याउन माग गरिएको छ।






