सीमा क्षेत्रका चुनौती समाधान गर्न सुरक्षा समन्वय आवश्यक: नगर प्रमुख शर्मा

पुनर्वास, कञ्चनपुर।

कञ्चनपुरको सीमावर्ती पुनर्वास नगरपालिकामा सीमा सुरक्षा, जनस्वास्थ्य संरक्षण र आसन्न मनसुनजन्य विपद् व्यवस्थापनमा स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ एक विशेष अन्तरक्रिया तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीको आयोजनामा पुनर्वास नगरपालिकाको बैठक हलमा आयोजित सिमावासीसँग अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख तोय प्रसाद शर्माले सीमा क्षेत्रका बहुआयामिक चुनौती समाधानका लागि दुवै देशका उच्च सुरक्षा निकायबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभएको हो। सुदूरपश्चिम प्रदेशमै पहिलो पटक आयोजना गरिएको यस किसिमको महत्वपूर्ण संवादका लागि पुनर्वास नगरपालिकालाई रोजिएकोमा उहाँले सशस्त्र प्रहरी बलको नेतृत्वप्रति विशेष आभार व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले खुला सीमाका कारण स्थानीय नागरिकले घरायसी सामान खरिद गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइ र नेपाल सरकारको पछिल्लो भन्सार नीतिले सर्वसाधारणमा पारेको प्रभावबारे विस्तृत चर्चा गर्नुभयो। सीमा क्षेत्रमा घरायसी प्रयोजनका सामग्री ल्याउने सन्दर्भमा सुरक्षाकर्मीबाट हुँदै आएको सहजीकरणलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले नियमसम्मत रूपमा सीमापार तस्करी र अखाद्य वस्तुको ओसारपसारमा भने पूर्ण प्रतिबन्ध लगाउनुपर्ने स्पष्ट पार्नुभयो।

विशेष गरी भारतबाट भित्रिने अखाद्य पेय पदार्थ डिउ, गुट्खा तथा खैनी जस्ता घातक सामग्रीका कारण सीमावर्ती क्षेत्रका बासिन्दामा क्यान्सर रोगीको संख्या विकराल रूपमा बढिरहेको तथ्यांक प्रस्तुत गर्दै नगर प्रमुख शर्माले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। पहाडी क्षेत्रको तुलनामा तराईका सीमावर्ती पालिकाहरूमा यो जनस्वास्थ्यको समस्या बढी देखिएकाले सशस्त्र प्रहरी र जनपद प्रहरीसँग समन्वय गरी वडा वडामा जनसचेतना अभियान सञ्चालन गर्न नगरपालिका तयारी अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो। यस्तै, बेलौरी र पुनर्वास क्षेत्र लागूऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनिरहेको भन्दै यसको मुख्य मुहानमै नियन्त्रणका लागि भारतीय समकक्षीहरूसँगको उच्च सुरक्षा बैठकमा सशक्त रूपमा कुरा उठाउन उहाँले बाहिनीपति र गणपति समक्ष आग्रह गर्नुभयो।

विगतका बाढी तथा डुबानका समयमा सुरक्षा निकायले पुर्‍याएको उद्धार र योगदानको उच्च प्रशंसा गर्दै नगर प्रमुख शर्माले विगतमा बोट चलाउने तालिमप्राप्त जनशक्ति नहुँदा उद्धारमा समस्या झेल्नुपरेको स्मरण गर्नुभयो। सोही समस्यालाई मध्यनजर गर्दै सामग्रीको सही सदुपयोगका लागि कम्तीमा आठ जना तालिमप्राप्त सशस्त्र प्रहरीका जवानहरूलाई पुनर्वासमै तयारी अवस्थामा राखिदिन उहाँले बाहिनीपति र जिल्ला सुरक्षा प्रमुखसँग विशेष अनुरोध गर्नुभयो। सोही अवसरमा पुनर्वास क्षेत्रभित्र मनसुनजन्य विपद्को समयमा हुन सक्ने जनधनको क्षतिलाई कम गर्न र तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पुनर्वास नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल बीओपी पुनर्वासबिच एक औपचारिक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ।

सम्झौता अनुसार नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका एक थान रबर बोट, तीन थान प्याडल, १० थान लाइफ ज्याकेट, चार थान लाइफ बो रिङ र १० जोर गमबुट चालु आर्थिक वर्षको मनसुन अवधिभरका लागि जिम्मेवारीपूर्वक प्रयोग र संरक्षण गर्ने गरी बीओपी पुनर्वासलाई हस्तान्तरण गरेको छ। नगर प्रमुख तोय प्रसाद शर्मा र सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलको रोहबरमा भएको उक्त सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी र सशस्त्र प्रहरीका तर्फबाट बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र बहादुर मल्लले हस्ताक्षर गर्नुभयो।

कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीको विशेष उपस्थितिमा भएको उक्त छलफलमा सीमा क्षेत्रको सुरक्षा संवेदनशीलता र विपद् व्यवस्थापनका विविध प्राविधिक विषयमा सामूहिक मन्थन गरिएको थियो। छलफलमा सशस्त्र प्रहरी बल नेपाल बेलौरी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेत, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की, बीओपीका प्रमुखहरू क्रमश: बीओपी पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र बहादुर मल्ल, बीओपी आँपतालका सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहरा, बीओपी डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर वि.क. र बीओपी दोधाका सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बम लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाका विपद् फोकल पर्सन ओमनाथ ढकालले समेत विपद् पूर्वतयारीका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ