दोधारा चाँदनीमा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको शङ्कास्पद मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

दोधारा चाँदनी, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको भोलिपल्ट बिहान शङ्कास्पद अवस्थामा मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० फगिरे चौराहा निवासी ४२ वर्षीया पारु सुनारको आफ्नै घरमा मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा मृतकका ४५ वर्षीय श्रीमान् रन बहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गत असार ३१ गते दिउँसो साढे दुई बजेतिर रन बहादुरले आफ्नी श्रीमती पारुमाथि निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट पारुको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट तथा निलडाम लागेको थियो। श्रीमतीमाथि कुटपिट गरेलगत्तै आरोपित रन बहादुर आफैँ पनि एक्कासि बेहोस भएका थिए। दुवै जना घाइते भएपछि स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई उपचारका लागि तत्काल दोधारा चाँदनी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारपश्चात सोही दिन राति करिब नौ बजे दुवै जना घर फर्किएका थिए।

उपचार गराएर घर फर्किएकी पारु आज बिहान पौने नौ बजेको समयमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। महिलाको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधाराबाट प्रहरी निरीक्षकको कमान्डमा सिनियर अफिसर र ‘सोको’ (क्राइम सिन अफिसर) सहित सात जनाको विशेष प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनास्थलको सूक्ष्म अनुसन्धान र कानुनी प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

स्थानीय बासिन्दाले घरेलु हिंसाका यस्ता चरम घटनाले समाजमा असुरक्षा बढाएको भन्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले मृतकका श्रीमान् रन बहादुर सुनारलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। महिलाको शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनाको थप कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ