नगद कारोबार गर्ने उपभोक्ताका लागि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान

काठमाडौँ।

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत नगदमा कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल अनलाइनमा दर्ता गराउन औपचारिक रूपमा आह्वान गरेको छ।

विभागले शनिबार एक सूचना जारी गर्दै साउन १ गतेयता एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर बिल लिएका उपभोक्ताहरू यस कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माले सेवाग्राहीको सहजीकरणका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले नगद भुक्तानी गरी स्वप्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले तोकिएको वेबसाइटमा गएर बिल अपलोड गर्न सक्ने स्पष्ट पार्नुभयो।

क्युआर कोडमार्फत गरिएको कारोबार प्रणालीबाटैस्वतस्फूर्त रूपमा उपहार कार्यक्रममा समावेश भइसकेकाले उनीहरूले अहिले बिल प्रविष्ट गर्नु नपर्ने विभागले प्रस्ट पारेको छ। बैंक तथा वालेटको माध्यमबाट क्युआरमार्फत भुक्तानी गरेका उपभोक्ताहरूको कारोबार नम्बर पहिल्यै प्रणालीमा सुरक्षित भइसकेको हुन्छ। तथापि, उपहार घोषणा भएपश्चात सक्कल बिल अनिवार्य पेस गर्नुपर्ने भएकाले सबै उपभोक्तालाई बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ। यसका साथै, उपभोक्ताहरूले आफूले गरेको खरिदको सक्कल बिल अनिवार्य माग गर्न र बिल नदिने व्यावसायिक फर्मको बारेमा विभागलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।

आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत हरेक दिन एक जना उपभोक्तालाई कर कट्टी गरी एक लाख रुपैयाँ नगद र प्रत्येक १५ दिनमा बम्पर उपहारस्वरूप दश लाख रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ। विभागले प्राविधिक तयारी पूरा गर्दै पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ। बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई जनमुखी र पारदर्शी बनाउन यस प्रकारका कार्यक्रमले दूरगामी महत्व राख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ