गुलरिया, कञ्चनपुर।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भारतबाट भन्सार छलेर ल्याइएका लत्ताकपडा र दुई थान मोटरसाइकलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर ५ स्थित गुलरिया बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूसँगै प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएका साडी, धोती, सुट, कुर्ता लगायतका कपडाहरू फेला पारेको छ। त्यसैगरी ओसारपसारमा प्रयोग गरिएका म २ प २७१ नम्बरको सुपर स्प्लेन्डर र म १ प ६९९९ नम्बरको पल्सर मोटरसाइकल समेत जफत गरिएको छ।
बरामद गरिएका सामान तथा सवारी साधनको कुल अनुमानित मूल्य एक लाख ५८ हजार सात सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका चारै जना व्यक्तिहरूलाई बरामद सामग्रीसहित थप कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।





