पुनर्वासको काफ्ले चोकबाट दुई लाख बढीको भन्सार छलीका सामानसहित स्कुटर बरामद

कंचनपुर।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित काफ्ले चोक भित्री इलाकाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार छली नेपाल भित्र्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र एउटा स्कुटर बरामद गरेको छ।

आज दिउँसो पौने पाँच बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह बोहराको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले उक्त अवैध सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो। भारतबाट लुकिछिपी भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीको गस्ती देखेपछि संलग्न व्यक्तिहरु सामान त्यहीँ छाडेर भागेको हुन सक्ने अनुमान गरिएको छ।

बरामद गरिएका सामग्रीहरुमा एउटा नेपाली स्कुटर, विभिन्न किसिमका लेडिज कपडा र सुर्तीजन्य पदार्थ रहेका छन्। ती सम्पूर्ण सामानको अन्दाजी बजार मूल्य दुई लाख चार हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका स्कुटरसहित सम्पूर्ण अवैध सामान आवश्यक कानुनी कारबाही तथा राजस्व असुलीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ