जीवन परिवर्तनका लागि योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगको असाधारण भूमिका रहेको बताउनुभएको छ। पतञ्जली योग समिति डडेल्धुराले अमरगढीमा आयोजना गरेको एक विशेष स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले योगलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभएको हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले आफूले योगको महत्व र यसको सकारात्मक प्रभावलाई अत्यन्त नजिकबाट बुझेको उल्लेख गर्नुभयो। उहाँले योगलाई केवल शारीरिक व्यायामका रूपमा मात्र सीमित नराखी यसलाई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने सशक्त माध्यमका रूपमा अङ्गीकार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति र अनुशासन कायम गर्न योग अपरिहार्य रहेको उहाँको भनाइ थियो।

योगलाई प्रदेशका सम्पूर्ण नागरिकको दैनिक जीवनसँग जोड्दै सबैका लागि योग भन्ने अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो। प्रदेश सरकारले योग तथा प्राकृतिक चिकित्सा र स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो। प्रदेशभर यसको पहुँच विस्तार गर्न सरकारले आवश्यक सम्पूर्ण सहयोग र समन्वय गर्ने कुरामा मुख्यमन्त्रीले विश्वस्त तुल्याउनुभयो।

विद्यालय, स्थानीय समुदाय र सार्वजनिक संस्थाहरूमा समेत योग अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले यसबाट समुन्नत र स्वस्थ सुदूरपश्चिम निर्माणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ