रसुवाका बाढीपहिरो पीडितको राहतका लागि मेगा सहकारीद्वारा प्रधानमन्त्री उद्धार कोषमा आर्थिक सहयोग

महेन्द्रनगर, कञ्चनपुर ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका ३ स्थित केन्द्रिय कार्यालय रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो । उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष रघुनाथ ओझाद्वारा भदौ १६ गते जारी गरिएको विज्ञप्तिअनुसार संस्थाको वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत रहेको प्राकृतिक प्रकोप राहत शीर्षकबाट उक्त सहयोग रकम उपलब्ध गराइएको हो ।

विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा यो निर्णय गरिएको अध्यक्ष ओझाले बताएका छन् । सहयोग हस्तान्तरणका लागि संस्थाले ग्लोबल आइएमई बैंकको महेन्द्रनगर शाखाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एक लाख एक हजार एक सय एघार रुपैयाँको चेक जारी गरिसकेको छ ।

प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै सहयोग, सद्भाव र मानवीय सेवामा आ आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न सहकारीले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूमा हार्दिक अपिलसमेत गरेको छ । सुदूरपश्चिम प्रदेशका अन्य सामाजिक तथा वित्तीय संस्थाहरूले पनि यसैगरी विपद्को समयमा समुदायस्तरबाटै हातेमालो गर्दै विपद् व्यवस्थापनमा राज्यलाई सघाउनुपर्ने सकारात्मक सन्देश यस कदमले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ