भोटेकोशी बाढीका मृतकप्रति ब्राइट स्टार बोर्डिङ स्कुल शान्तिपुरद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

शान्तिपुर, बेलौरी (कञ्चनपुर) । कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरी नगरपालिकाको शान्तिपुरमा रहेको ब्राइट स्टार बोर्डिङ स्कुल परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिक तथा राष्ट्रसेवकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रकट गरेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण कर्तव्यपालनको सिलसिलामा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणको ज्यान गएको घटनाप्रति विद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको हो।

विद्यालय प्रशासनले एक शोक सन्देश जारी गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। प्राकृतिक विपद्‌मा परी अमूल्य जीवन गुमाउने व्यक्तिहरू केवल तथ्यांक नभई समाज, परिवार र भविष्यका साझा सपना भएको उल्लेख गर्दै विद्यालयले उनीहरूको सेवा र समर्पणको उच्च सम्मान गरेको छ।

 

यसैगरी, बाढी तथा पहिरोका कारण घाइते भएका, विस्थापित बनेका एवं हालसम्म सम्पर्कविहीन रहेका नागरिकहरूको शीघ्र उद्धार, प्रभावकारी उपचार र सुरक्षित पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

पीडादायी क्षणमा सबै प्रभावित परिवारसँग मानवीय ऐक्यबद्धता प्रकट गर्दै विद्यालयले विपद् व्यवस्थापन र पीडितहरूको दीर्घकालीन पुनःस्थापनामा राज्यका सबै निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ