कञ्चनपुर (बेलौरी)
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले चार लाख चौबीस हजार रुपैयाँ बराबरको अवैध पोल्ट्रीजन्य वस्तु, माछा र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी निरीक्षक ज्योतिष मिश्रको कमाण्डमा खटिएको सात जनाको मोबाइल गस्ती टोलीले बेलौरी नगरपालिकाको वडा नम्बर २ स्थित सीमा इलाकामा उक्त कारबाही गरेको हो। प्रहरीका अनुसार भदौ १६ गते राति एघार बजे र भदौ १७ गते बिहान सबा एघार बजे गरी दुई अलगअलग समयमा भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामग्रीहरू बरामद गरिएको थियो।

बरामद गरिएका सामग्रीहरूमा अन्दाजी एक लाख पचास हजार रुपैयाँ मूल्य बराबरका कुखुराका चल्ला, एक सय किलोग्राम ब्रोइलर कुखुरा र असी किलोग्राम माछा रहेका छन्। यसैगरी, उक्त अवैध सामान ओसारपसारमा प्रयोग गरिएको म २ प ११३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कुखुराका चल्ला भित्र्याउने क्रममा भारतको लखिमपुर खिरीअन्तर्गत ग्राम पञ्चायत कमलापुरी बस्ने ३० वर्षीय अमित अहमदलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सम्पूर्ण कुखुराका चल्ला, ब्रोइलर कुखुरा र माछालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी गुल्मको परिसरभित्रै सरोकारवालाहरूको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको छ। त्यसैगरी, पक्राउ परेका भारतीय नागरिक र जफत गरिएको मोटरसाइकललाई थप आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।





