कञ्चनपुर (पुनर्वास)
कञ्चनपुरको पुनर्वास र बेलौरी नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले लाखौँ मूल्य बराबरको भन्सार छलीका अवैध कपडा र काठसहित एउटा भारतीय मोटरसाइकल बरामद गरेको छ। नेपाल–भारत सीमा इलाकामा हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि खटिएको गस्ती टोलीले छुट्टाछुट्टै स्थानबाट पौने दुई लाख रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर विकको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले भदौ १६ गते राति पुनर्वास नगरपालिकाको वडा नम्बर ११ स्थित डोकेबजार सीमा इलाकामा उक्त कारबाही गरेको हो। भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको पच्चीस हजार आठ सय रुपैयाँ बराबरको साडी र सुट लगायतका महिलाले प्रयोग गर्ने कपडाहरू प्रहरीले बरामद गरेको छ। नियन्त्रणमा लिइएका उक्त कपडाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी भदौ १७ गते बिहान बेलौरी नगरपालिकाको वडा नम्बर १० पन्तचोक इलाकाबाट अवैध काठसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइएको छ। बीओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक जितबहादुर वलीको कमाण्डमा खटिएको चार जनाको गस्ती टोलीले युपी २६ एपी ६५९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सगुनको चार थान सानो गोलिया काठ बरामद गरेको हो। प्रहरीका अनुसार बरामद गरिएको काठ र मोटरसाइकलको कुल मूल्य एक लाख एकाउन्न हजार आठ सय रुपैयाँ कायम गरी थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ।





