कञ्चन आवाज, धनगढी (कैलाली)।
सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरले कैलालीका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गर्नुका साथै धनगढीस्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल बेहडा बाबा मन्दिरमा आयोजित साँझको महाआरतीमा सहभागिता जनाउनुभएको छ।

गौरीगंगा तथा गोदावरी क्षेत्रमा सञ्चालित भौतिक पूर्वाधार, सडक तथा सार्वजनिक निर्माण कार्यहरूको गुणस्तर र प्रगतिको स्थलगत निरीक्षण गर्दै उहाँले निर्धारित समयमै दिगो र गुणस्तरीय काम सम्पन्न गर्न मातहतका निकाय तथा सरोकारवालालाई निर्देशन दिनुभयो। अनुगमनका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, प्रशासन तथा नागरिकहरूसँग प्रत्यक्ष संवाद गरी विकास निर्माणमा देखिएका चुनौती र जनअपेक्षाबारे जानकारी लिनुभएको थियो।

स्थलगत अनुगमन तथा अन्तर्क्रिया पश्चात् राज्यमन्त्री कुँवर धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध बेहडा बाबा धाम पुग्नुभएको थियो। मन्दिर परिसरमा आयोजित नियमित सन्ध्याकालीन महाआरती तथा धार्मिक अनुष्ठानमा सरिक हुँदै उहाँले पूजाआराधना गर्नुभयो।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने उल्लेख गर्दै उहाँले प्रदेशका यस्ता ऐतिहासिक धरोहरहरूको भौतिक पूर्वाधार विकासमा सरकारले आवश्यक प्राथमिकता दिने बताउनुभयो। जनसरोकारका विकास आयोजनाको अनुगमनसँगै धार्मिक क्षेत्रको प्रवर्द्धनमा राज्यमन्त्रीको यस उपस्थितिलाई स्थानीयले अर्थपूर्ण रूपमा लिएका छन्।





