कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गत पर्ने नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली ल्याइएका ६१ हजार रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा लुकाएर राखिएका ती खाद्य तथा सुर्तीजन्य वस्तुहरु नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाएको हो।

भदौ २१ गते दिउँसो अन्दाजी दुई बजेको समयमा पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित गोविन्द गौतम चोक नजिकै सो कारबाही गरिएको हो। स्थानीय कमला रेग्मीको बाख्रा खोरको पश्चिम तर्फ रहेको बारीमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाइछिपाइ राखिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की र अस्थायी प्रहरी पोष्ट आइबिआरडीबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र बहादुर खडायतको कमान्डमा खटिएको संयुक्त गस्ती टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो।

प्रहरीले घटनास्थलबाट विभिन्न प्रकारका दाल, भुजिया, बदाम, चिप्स, सुपारी, सुर्ती, बिडी, बिस्कुट, चकलेट र गुट्खा लगायतका किराना सामग्रीहरु बरामद गरेको छ। बरामद गरिएका सामग्रीहरुमा मुंग दाल, आलु भुजिया, पञ्जाबी तड्का, पारले जी बिस्कुट, सुपर पावर र त्रिशुल सुर्ती लगायतका दर्जनौं प्रकारका भारतीय उत्पादनहरु रहेका छन्। ती सम्पूर्ण वेवारिसे सामानहरुको कुल अनुमानित बजार मूल्य एकसठ्ठी हजार आठ सय पैँतिस रुपैयाँ कायम गरिएको छ।
बरामद गरिएका सम्पूर्ण सामग्रीहरुलाई हाल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखिएको छ। आवश्यक कानुनी कारबाही तथा राजस्व असुलीका लागि ती अवैध सामानहरुलाई भन्सार कार्यालयमा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ।





