काठमाडौं। नेपाली कांग्रेसले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न कडा मापदण्ड तय गरेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र अनुशासित बनाउन जारी गरेको नयाँ निर्देशन अनुसार सामाजिक विसंगतिमा संलग्न र विगतमा अवसर पाएकाहरूलाई यसपटक उम्मेदवारीको दौडबाट बाहिर राख्ने नीति अख्तियार गरिएको हो।
सार्वजनिक गरिएको मापदण्ड अनुसार जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिहरू कांग्रेसको उम्मेदवार बन्न पूर्ण रूपमा अयोग्य हुनेछन्। राजनीतिमा नैतिकता र सामाजिक प्रतिष्ठालाई उच्च प्राथमिकता दिँदै पार्टीले समाजमा नकारात्मक छवि बनाएका व्यक्तिहरूलाई उम्मेदवार सिफारिस नगर्ने र सामाजिक न्यायको पक्षमा उभिने सन्देश दिन खोजेको देखिन्छ।
पार्टी विधानको धारा ३३ (२) बमोजिम २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भइसकेका व्यक्तिहरू आगामी निर्वाचनमा पुनः समानुपातिक उम्मेदवार बन्न पाउने छैनन्। त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई समेत यसपटक प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्न नपाइने व्यवस्था गरिएको छ।
स्थानीय सरकारको स्थिरतालाई ध्यानमा राख्दै कांग्रेसले २०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई बीचमै राजीनामा गराएर माथिल्लो पदमा उम्मेदवार बनाउने बाटो पनि बन्द गरिदिएको छ। उम्मेदवार सिफारिस गर्दा तोकिएको संख्याभन्दा बढी नाम पठाउन नपाइने र प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा सदस्यमध्ये कुनै एक व्यक्तिलाई एक पदका लागि मात्र सिफारिस गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ। यसले एउटै व्यक्ति धेरै पदमा दाबी गर्ने प्रवृत्तिलाई अन्त्य गर्नेछ।
पार्टी अनुशासनलाई कडाइका साथ पालना गराउन विधानको धारा ६९ बमोजिमको लेवी अर्थात् सहयोग रकम नबुझाउने कुनै पनि तहका नेता तथा कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन्। उम्मेदवार हुन चाहनेले नेपाली नागरिकता, मतदाता परिचय पत्र, मतदाता नामावलीमा नाम भएको निस्साका साथै पार्टी केन्द्रबाट तोकिएको प्रतिबद्धता पत्र, निर्वाचन आयोगको स्वघोषणा पत्र र सम्पत्ति विवरण फारम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।





