कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर
नेपाली कांग्रेसका पूर्वसभापति एवं पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने औपचारिक घोषणा गरेका छन्। वि.सं. २०४८ सालदेखि डडेलधुराबाट निरन्तर अविचलित जित हासिल गर्दै आएका सुदूरपश्चिमका ‘सेर’ मानिने देउवालाई पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले टिकट दिन अस्वीकार गरेपछि उनी चुनावी दौडबाट बाहिरिन बाध्य भएका हुन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले मंगलबार यसको पुष्टि गर्दै शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराएका छन्। प्राप्त जानकारी अनुसार, निवर्तमान सभापति देउवाले उम्मेदवारी दर्ताको दिन (आज) सम्म पनि आफ्नो गृहजिल्ला डडेलधुराबाट टिकट पाउनका लागि निकै कसरत गरेका थिए। तर, कांग्रेसको संस्थापन पक्षले उनलाई अब ‘अभिभावकीय भूमिका’ र ‘संरक्षक’ को जिम्मेवारीमा रहन सुझाउँदै टिकट दिन अस्वीकार गरेको हो। पार्टीका पदाधिकारीहरूले देउवालाई पुनः उम्मेदवार बनाउँदा पार्टीले अंगीकार गरेको ‘रूपान्तरण र पुस्तान्तरण’ को सन्देश प्रभावित हुने निष्कर्ष निकालेका थिए।
सुदूरपश्चिमलाई आफ्नो राजनीतिक गढ मान्ने देउवा सात पटक सांसद र पाँच पटक देशको प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुन्। उनको बहिर्गमनले यहाँको राजनीतिमा ठूलो तरंग ल्याएको छ भने डडेलधुरामा कांग्रेसको विरासत अब कसले थाम्ने भन्ने विषय पेचिलो बनेको छ। संस्थापन पक्षले देउवालाई टिकट नदिए पनि उनको समूहका अन्य जित्न सक्ने नेताहरूलाई भने उम्मेदवार बनाउने संकेत गरेको छ। सुदूरपश्चिमको विकास र यहाँको राजनीतिक पहिचानमा देउवाको अनुपस्थितिले कस्तो प्रभाव पार्ला र राष्ट्रिय राजनीतिमा उनको भूमिका अब कसरी अगाडि बढ्ला भन्ने विषयमा सर्वत्र चासो बढेको छ।





