धनगढी। चैत्र २६
सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्था र प्रदेश सरकारको सुस्त कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गर्नुभएको छ। प्रदेश सभाको शून्य समयमा बोल्दै उहाँले दार्चुला लगायतका जिल्लाहरूमा सडक सञ्जालको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको र यसले नागरिकको जीवन रक्षामा चुनौती थपेको बताउनुभयो।
हालै दार्चुलाको शैल्यशिखरमा भएको दुःखद सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सांसद विकले दिनप्रतिदिन बढ्दै गएका सडक दुर्घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। प्रदेश र स्थानीय तहबाट सञ्चालित सडक योजनाहरूमा निर्माण व्यवसायीले गरिरहेको ढिलासुस्ती र प्राविधिक मापदण्डविपरीत भइरहेका निर्माण कार्यले दुर्घटनाको जोखिम बढाएको उहाँको तर्क थियो। उहाँले विकासका नाममा बिना योजना खनिएका सडकहरू नागरिकका लागि धराप बनेको उल्लेख गर्नुभयो।
संसदमा बोल्ने क्रममा विकले दार्चुलाको दुम्लिङमा राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङको नेतृत्वमा जनश्रमदान र सहयोगमार्फत निर्माण भइरहेको झलुङ्गे पुलको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। सरकारको मुख नताकी जनस्तरबाट भएको यस्तो रचनात्मक कार्य विकासका लागि प्रेरणादायी रहेको बताउँदै उहाँले सांसद साम्पाङलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो।
प्रदेश सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै पूर्वमन्त्री विकले चालु आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च केवल १४ प्रतिशतमा सीमित हुनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो। सरकारको यस्तो अकर्मण्यताले जनतामा व्यवस्थाप्रति नै वितृष्णा पैदा गरेको उहाँको दाबी थियो। दार्चुलाको सीमा क्षेत्र विकासका लागि सदनमा पटक–पटक आवाज उठाउँदा पनि सरकारले वास्ता नगरेको भन्दै उहाँले सीमावर्ती क्षेत्रका नागरिकले राज्यको उपस्थिति महसुस गर्न नपाएको गुनासो गर्नुभयो।
विधायिकी काममा समेत सरकार पूर्णतः असफल देखिएको आरोप लगाउँदै उहाँले दर्जनौँ विधेयकहरू प्रदेश सभामा अलपत्र अवस्थामा रहेको जानकारी दिनुभयो। सरकारले ६ महिना सुत्ने र ६ महिना ब्युँझिने ‘कुम्भकर्ण शैली’ अपनाएको भन्दै उहाँले तीन वर्षको कार्यकाल बितिसक्दा पनि कानुन निर्माण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा प्रदेश सरकारले कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो।
पछिल्लो समय केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरण र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागितालाई शुभकामना दिँदै उहाँले प्रदेश सरकारको वर्तमान कार्यशैलीबाट नागरिकले न्याय नपाउने जिकिर गर्नुभयो। प्रदेश सरकारले जनभावना अनुसार काम गर्न नसकेको र आफ्नो औचित्य पुष्टि गर्न नसकेको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै उहाँले आफ्नो भनाइ टुङ्ग्याउनुभयो।





