बेलौरीमा सवारी व्यवस्थापनमा कडाइ: चालकलाई फ्लोरेसेन्ट ज्याकेट र सवारीसाधनमा भाडादर सूची अनिवार्य

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी क्षेत्रमा सवारी व्यवस्थापनलाई थप मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन नयाँ नियमहरू लागू गरिएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलौरीले स्थानीय स्तरमा चल्ने सवारी साधन र तिनका चालकहरूका लागि विशेष ड्रेस कोड र भाडादर सम्बन्धी कडाइ गरेको हो।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलौरीका इन्चार्ज एवं ट्राफिक प्रहरी वरिष्ठ हवलदार खेमराज भट्टका अनुसार अबदेखि बेलौरी क्षेत्रमा सञ्चालित अटो, ट्याक्सी, बस तथा विद्युतीय रिक्सा र सार्वजनिक यात्रुवाहक सवारीका चालकहरूले अनिवार्य रूपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्नेछ। उक्त ज्याकेटको पछाडि सवारी चालकको नाम, गाडी नम्बर र मोबाइल नम्बर स्पष्ट रूपमा देखिने गरी उल्लेख गरिएको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ। यो नियमले यात्रुको सुरक्षा सुनिश्चित गर्नुका साथै कुनै पनि समस्या परेको खण्डमा चालकको पहिचान तत्काल गर्न सहज हुने विश्वास लिइएको छ।

त्यसैगरी, यात्रुहरू ठगिने गुनासोलाई सम्बोधन गर्न सबै प्रकारका सार्वजनिक सवारी साधनले आफ्नो गाडीमा स्पष्ट रूपमा भाडादर सूची राख्नुपर्ने नियम समेत लागू गरिएको छ। भाडादर निर्धारणका विषयमा ट्राफिक प्रहरीले बेलौरी नगरपालिकाका नगर प्रमुखसँग आवश्यक समन्वय गरिसकेको छ। स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भाडादर निर्धारणको कार्यलाई छिट्टै पूर्णता दिन र आधिकारिक सूची सार्वजनिक गर्न नगरपालिकालाई आग्रह गरिएको वरिष्ठ हवलदार भट्टले जानकारी दिनुभयो। अटो व्यवसायी समितिका प्रतिनिधिहरूसँगको छलफलपछि सबै सवारीमा भाडाको सूची टाँस्ने प्रक्रिया तत्काल अगाडि बढाइने भएको छ।

ट्राफिक प्रहरीका अनुसार यो नयाँ व्यवस्था कार्यान्वयनका लागि सुरुवाती एक हप्तासम्म चालकहरूलाई जानकारी गराउने, सम्झाउने र सचेतना फैलाउने काम गरिनेछ। सचेतना अवधिसम्म पनि नियमको पालना नगर्ने र अटेरी गर्ने चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ