बेलौरी, कञ्चनपुर ।
इलाका प्रहरी कार्यालय बेलौरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचुई सीमा नाकाबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेका ६ वटा राँगा नियन्त्रणमा लिएको छ । बुधबार राति करिब १ बजेको समयमा गस्तीमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई सीमा पार गराउन लागिएको अवस्थामा ती राँगाहरू बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख एवं प्रहरी निरीक्षक कमल चौधरीले दिएको जानकारी अनुसार विशेष सूचना र नियमित निगरानीका क्रममा उक्त सफलता प्राप्त भएको हो । बरामद गरिएका राँगाहरूको बजार मूल्य अन्दाजी ४ लाख रुपैयाँ कायम गरिएको छ । प्रहरीले ती राँगाहरूलाई नियन्त्रणमा लिएर हाल कार्यालयको परिसरमा राखेको छ ।
नियन्त्रणमा लिइएका राँगाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि भन्सार कार्यालय चलान गरिने प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । पछिल्लो समय बेलौरी प्रहरीले सीमा क्षेत्रमा हुने चोरी पैठारी र अवैध तस्करी नियन्त्रणका लागि कडा निगरानीका साथै गस्ती परिचालनलाई तीव्र बनाएको छ ।





