बेलौरीमा प्रथम वडाध्यक्ष खुल्ला नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा ‘प्रथम वडाध्यक्ष खुल्ला नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ। खेलकुदको विकास र प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित वैशाख १७ गतेदेखि यस प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।

प्रतियोगिताको उद्घाटन बेलौरी नगरपालिकाका उपप्रमुख जोग राम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उद्घाटन समारोहको अध्यक्षता वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले गर्नुभएको थियो। कार्यक्रममा बेलौरी नगर खेलकुद समितिका प्रतिनिधि तेज बहादुर चन्द, बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठ लगायतका खेलप्रेमी व्यक्तित्वहरू, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त उद्घाटन समारोहको सञ्चालन महाकाली बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपेन्द्र उपाध्यायले गर्नुभएको थियो।

स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्न र युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख चौधरीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सदैव सकारात्मक रहेको बताउँदै खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै सभाध्यक्षको आसनबाट बोल्दै वडाध्यक्ष ढकालले वडाको समग्र विकासमा भौतिक पूर्वाधार निर्माणसँगै युवा लक्षित खेलकुद र स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राखिएको प्रष्ट पार्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ