बेलौरीमा जनस्तरबाट संकलित ‘कोभिड बचत’ रकमले खुवाइँदै बटुवालाई चिसो पानी

बेलौरी, कञ्चनपुर

बेलौरी नगरपालिकाको भीमदत्त चोकमा सर्वसाधारण र बटुवाहरूको सुविधाका लागि चिसो पिउने पानीको व्यवस्था गरिएको छ। यो सेवा कुनै सरकारी बजेट वा दातृ निकायको सहयोग नभई स्थानीय जनताकै सहभागिता बाट व्यवस्थापन गरिएको स्थानीय खडक शाहले बताउनुभयो।

विगतमा कोभिड १९ को महामारीका समयमा बेलौरीवासीहरूबाट आपतकालीन व्यवस्थापनका लागि संकलन गरिएको रकममध्ये खर्च कटाएर बाँकी रहेको बचतबाट यो वाटर कुलर मेसिन खरिद गरिएको हो। स्थानीय समाजसेवी खडक शाहका अनुसार, कोभिडको समयमा विभिन्न सामग्रीहरू खरिद गरेपश्चात् बचेको रकमलाई सार्वजनिक हितका लागि प्रयोग गर्ने निर्णय बमोजिम यो संयन्त्र जडान गरिएको हो।

नगरपालिकाको भीमदत्त चोक नजिकै जडान गरिएको यस मेसिनको सञ्चालन र प्राविधिक पक्ष निकै व्यवस्थित छ। यसका लागि आवश्यक पर्ने विद्युत र पानीको निरन्तर आपूर्ति तथा अन्य प्राविधिक रेखदेखको जिम्मेवारी स्थानीय समाजसेवी दीपेन्द्र बिष्टले सम्हाल्नुभएको छ।

चर्को गर्मीको समयमा बजार आउने सर्वसाधारण र यात्रीहरूका लागि यो “चिसो पिउने पानी” सेवाले ठुलो राहत पुर्‍याएको स्थानीयको भनाइ छ। समुदायको सानो-सानो सहयोगबाट कसरी दिगो र उपयोगी कार्य गर्न सकिन्छ भन्ने सन्देश यस पहलले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ