धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार परिवर्तनको हल्लाले आफू त्रसित नभएको र लोकतान्त्रिक विधि तथा प्रक्रियाको सामना गर्न तयार रहेको बताएका छन्। धनगढीमा सुरु भएको नेपाली कांग्रेसको प्रदेश तथा स्थानीय तह केन्द्रित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिँदै गगन थापालाई सिंगो कांग्रेसको पार्टी सभापति मान्न आफू तयार रहेको तर विगतका केही राजनीतिक घटनाक्रमको स्पष्ट जवाफ दिनुपर्ने सर्त अघि सारेका छन्।
पछिल्लो समय सुदूरपश्चिममा सरकार फेरबदल हुने विषयमा भइरहेका चर्चाप्रति इङ्गित गर्दै मुख्यमन्त्री शाहले आफू पद जोगाउनका लागि मात्र मञ्चमा नउभिएको प्रस्ट पारे। उनले शारीरिक, मानसिक र वैचारिक रूपले जस्तोसुकै परिस्थितिको सामना गर्ने साहस आफूसँग रहेको बताउँदै लोकतान्त्रिक विधिबाट आउने परिणामलाई सहज रूपमा स्वीकार गर्ने धारणा राखे। उनले पार्टी सभापतिलाई बद्नाम गर्ने र पार्टीलाई कमजोर बनाउने गैरजिम्मेवारपूर्ण कार्य नगर्न समेत नेता कार्यकर्तालाई आग्रह गरे।
आफू नेपाली कांग्रेसको मूल्य र मान्यतामा हिँड्ने सिपाही भएको बताउँदै उनले सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए। सम्बोधनका क्रममा उनले महामन्त्री गगन थापालाई सिंगो र बलियो कांग्रेसको सभापति बनाउने मनसायका साथ आफू उपस्थित भएको बताए। तर, त्यसका अघि पार्टीभित्र उठेका केही गम्भीर प्रश्नहरूको जवाफ नेतृत्वले दिनुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री शाहले विगतमा पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी पत्नीमाथि गरिएका प्रहार तथा निर्वाचनका क्रममा टिकटबाट वञ्चित गरिएको जस्ता घटनाहरू स्वाभाविक थिए वा अस्वाभाविक भन्दै प्रश्न गरे। यी विषयमा स्पष्ट जवाफ र दृष्टिकोण आएमा सिंगो नेपाली कांग्रेस निर्माणका लागि गगन थापालाई आगामी दस वर्षका लागि सभापति स्वीकार गर्न कुनै दुईमत नहुने उनले स्पष्ट पारे।
भेलामा उठेका मुख्यमन्त्री शाहका अभिव्यक्तिले सुदूरपश्चिम कांग्रेसभित्रको आन्तरिक समीकरण र आगामी नेतृत्वका विषयमा नयाँ बहस सिर्जना गरेको छ। उनले गुट उपगुटभन्दा माथि उठेर एक ढिक्का भएको बलियो कांग्रेस निर्माणका लागि सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिँदै कांग्रेसलाई पुनः जागृत गराउने अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेका छन्।





