दोधारा चाँदनीबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ

दोधारा चाँदनी (कञ्चनपुर), ६ जेठ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार बिहान साढे ११ बजेको समयमा उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा शंकास्पद अवस्थामा फेला परेका भीमदत्त नगरपालिका वडा नम्बर ४ भगतपुर बस्ने विद्यान बिष्ट र सोही ठाउँका सुमित चौधरीलाई नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूमाथि शंका लागि खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा शुद्ध तौल ४ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको थियो।

प्रहरीले अवैध लागुऔषधसहित समातिएका दुवै युवकलाई हिरासतमा राखेर कानूनी कारबाहीका लागि आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ