कञ्चनपुरमा अत्यधिक गर्मी र ‘लु’ को उच्च जोखिम, तीन दिनसम्म विशेष सतर्कता अपनाउन गृह मन्त्रालयको आग्रह

बेलौरी, कञ्चनपुर ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कञ्चनपुरसहित सुदूरपश्चिमका तराई क्षेत्रमा आगामी तीन दिनसम्म अत्यधिक गर्मी बढ्ने र तातो हावाको लहर (लु) चल्ने सम्भावना रहेको भन्दै जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै गृह मन्त्रालय मातहतको प्राधिकरणले शनिबार एक अपिल जारी गरी कञ्चनपुरमा दिउँसोको समयमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुन सक्ने चेतावनी दिएको हो। मौसममा आएको यो गम्भीर परिवर्तनका कारण जिल्लाको जनजीवन र नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना देखिएको छ।

कञ्चनपुरलाई तत्काल विशेष सतर्कता अपनाउनुपर्ने जिल्लाहरूको सूचीमा प्राथमिकताका साथ राख्दै प्राधिकरणले यस अवधिमा चल्ने मध्यम खालको तातो लहरले मानवीय स्वास्थ्यमा सामान्यदेखि गम्भीर प्रकृतिका असरहरू पुर्‍याउन सक्ने जनाएको छ। जिल्लामा एक्कासि बढेको तापक्रम र तातो हावाका कारण सर्वसाधारणमा थकान लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने र बेहोस हुनेसम्मको स्वास्थ्य समस्या देखिन सक्ने भएकाले स्वास्थ्य क्षेत्रसँग सम्बद्ध निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ। स्थानीयस्तरमा कृषि तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू यसबाट बढी प्रभावित हुने देखिएकाले काम गर्ने समयमा समेत फेरबदल गर्न स्थानीय प्रशासनले सुझाव दिएको छ।

गर्मीको यो जोखिमपूर्ण लहरबाट जोगिनका लागि कञ्चनपुरका स्थानीय बासिन्दाहरूलाई दिउँसोको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको ढाक्न अनुरोध गरिएको छ। शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त पानी, कागती पानी र जीवनजल पिउनुका साथै घरमै बनाएको ताजा र हलुका खाना खान र बालबालिकालाई चर्को घाममा खेल्न नदिन अभिभावकहरूलाई सचेत गराइएको छ। विशेषगरी जेष्ठ नागरिक, मुटु, फोक्सो र मिर्गौलासम्बन्धी दीर्घ रोग भएका बिरामीहरूलाई गर्मीले चाँडो असर गर्ने हुँदा उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन र कुनै समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी वा अस्पताल लैजान सुझाइएको छ।

यसैबीच, सम्भावित विपद्को प्रतिकार्यका लागि कञ्चनपुरका स्थानीय तह, सुरक्षा निकाय र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयले निर्देशन दिएको छ। स्थानीय प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पूर्वतयारी र नागरिक सचेतनाका कार्यहरू अघि बढाउँदै स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधिको मौज्दात चुस्त राख्न पहल सुरु गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ