पुनर्वास, कञ्चनपुर।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ स्थित कंकड सीमा इलाकाबाट सशस्त्र प्रहरीले भन्सार छली अवैध रूपमा नेपाल ल्याइँदै गरेको सामान र दुईवटा मोटरसाइकलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले आज बिहान करिब ७:३५ बजे उनीहरूलाई सीमा क्षेत्रबाट सामानसहित फेला पारेको हो।
पक्राउ पर्नेहरूमा भारतको जिल्ला लखिमपुर खिरी, कृष्णनगर पलिया बस्ने ३६ वर्षीय सुनिल गुप्ता र सोही जिल्लाको सम्पूर्णानगर बस्ने १९ वर्षीय बिवेक कुमार रहेका छन्। उनीहरूले भारतीय नम्बर प्लेट यूपी ३१ एन ०२३३ र यूपी ३१ एजे ४२६८ भएका मोटरसाइकलमा राखी अवैध रूपमा सामान भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।
प्रहरी टोलीले उनीहरूको साथबाट ७ पेटी टायल र १ कार्टुन नमकिन बरामद गरेको छ। बरामद गरिएका भन्सार छलीका सामग्री र मोटरसाइकलको कुल मूल्याङ्कन दुई लाख २१ हजार रुपैयाँ कायम गरिएको छ।
बरामद गरिएका मोटरसाइकल र सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ





