सशस्त्र प्रहरीको सक्रियता: कञ्चनपुर सीमा क्षेत्रबाट खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा

पुनर्वास, कञ्चनपुर।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई सुरक्षा निकायको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ४ कार्गीलडाँडा सीमा इलाकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।

​सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस कार्गीलडाँडाबाट सशस्त्र प्रहरी हवल्दार हिमाल रानाको कमाण्डमा खटिएको ३ जना र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी सहायक हवल्दार नरेन्द्र रोकायाको कमाण्डमा खटिएको २ जनाको संयुक्त चेकप्वाइन्ट टोलीले उक्त अवैध लागुऔषध बरामद गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बा प्र ०२–०२८ प ०९३१ नम्बरको नेपाली प्लेटको मोटरसाइकललाई शंका लागी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको सुरक्षा स्रोतले जनाएको छ।

​चेकजाँचका क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ त्रिभुवनबस्ती बस्ने २६ वर्षीय नविन सुनारको साथबाट कालो प्लास्टिक भित्र राखिएको शुद्ध तौल शून्य दशमलव ५५ ग्राम खैरो हेरोइन जस्तो देखिने वस्तु बरामद भएको हो। अवैध पदार्थ फेला परेपछि मोटरसाइकलमा सवार सुनार सहित कृष्णपुर नगरपालिका वडा नम्बर ८ मौरिफाटा बस्ने ३१ वर्षीय गणेश बिष्ट र पुनर्वास नगरपालिका वडा नम्बर ६ त्रिभुवनबस्तीका २१ वर्षीय दिपेश मल्ललाई सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ।

​पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बिहान करिब ८ बजे इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको जानकारी सशस्त्र प्रहरीले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ