सेती महाकाली ट्रक यातायात व्यवसायी सङ्घको १२ औ साधारण सभा सम्पन्न

धनगढी, १६ जेठ ।

सेती महाकाली ट्रक यातायात व्यवसायी सङ्घको १२ औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको धनगढीस्थित होटल सितारामा भव्य रूपमा सम्पन्न भएको छ। सङ्घका अध्यक्ष एवं नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश संयोजक मोहनसिंह साउँदको अध्यक्षतामा र महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रविक्रम बानियाँको प्रमुख आतिथ्यतामा आयोजित सो सभाले ढुवानी क्षेत्रको सुशासन, प्रविधिमैत्री प्रणाली, कानुनी अनुपालन र श्रमिक हितका पक्षमा व्यापक छलफल गरेको छ गर्मीमा। सङ्घको वार्षिक साधारण सभाको खुला सत्रको सञ्चालन उद्घोषिका हेमन्ता शर्माले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष योगेन्द्र बमले स्वागत मन्तव्यमार्फत देशका विभिन्न स्थानबाट उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो।

स्वागत मन्तव्यका क्रममा वरिष्ठ उपाध्यक्ष बमले मालवाहक यातायात क्षेत्रले झेल्नुपरेका सडक दुर्घटना लगायतका विविध चुनौतीहरूलाई सामूहिक र सङ्गठित रूपमा सामना गर्न व्यवसायीहरूबीच आपसी सहमति र सहकार्य अनिवार्य रहेको औंल्याउनुभयो। सभामा विशिष्ट अतिथिका रूपमा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नरेन्द्रबहादुर चन्द, बद्रीप्रसाद चौलागाई तथा आमन्त्रित अतिथिहरूमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा, सुन्दर सुदूरपश्चिम प्रालिका अध्यक्ष पदमराज सापकोटा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिना, सङ्घका केन्द्रीय सल्लाहकार नेत्रराज भट्ट, पूर्व अध्यक्षहरू देवबहादुर बम र मनिराज पाण्डे लगायत ढुवानी क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सभा को खुला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रविक्रम बानियाँले मुलुकको ढुवानी क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन भारवहन नियन्त्रण तथा डिजिटल प्रणालीको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो।

सङ्घका अध्यक्ष एवं महासङ्घका सुदूरपश्चिम प्रदेश संयोजक मोहनसिंह साउँदले आफ्नो अध्यक्षीय मन्तव्य राख्दै नेपाल जस्तो भू-परिवेष्ठित मुलुकमा ढुवानी व्यवसाय अर्थतन्त्रको मेरुदण्ड र आपूर्ति व्यवस्थाको एकमात्र विकल्प भएको बताउनुभयो। उहाँले ढुवानी व्यवसाय धराशायी हुनुमा अरूलाई मात्र दोष दिएर व्यवसायीहरू पानीमाथिको ओभानो बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। विगत ३० वर्षदेखि पहुँच र पावरको भरमा नियम कानुन मिच्ने परिपाटी अब अन्त्य भइसकेको उल्लेख गर्दै अध्यक्ष साउँदले भन्नुभयो, “अहिले जुन नयाँ सरकार र नियम-कानुनहरू आयाका छन्, ती हाम्रै व्यवसायको सुरक्षा र हितका लागि हुन् भन्ने कुरा मनन गर्दै हामी सबैले यसलाई अक्षरशः पालना गर्नुपर्छ। कानुनी परिधिभित्र बसेर अगाडि बढ्दा मात्र देश, समाज र व्यवसायको वास्तविक रूपान्तरण सम्भव छ।”

सभाको खुला सत्र भव्यताका साथ समापन गर्दै दिउँसो २ बजेदेखि सङ्घको प्राविधिक तथा साङ्गठनिक बन्द सत्र प्रारम्भ भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ