फाइल तस्बिर।
धनगढी, १७ जेठ।
सरकारको बजेट र प्रधानमन्त्रीको पछिल्लो संसदीय सम्बोधनप्रति कडा आपत्ति जनाउँदै कूटनीतिक मर्यादा उल्लंघन गरेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद मालले प्रधानमन्त्रीको कार्यशैली र रोष्टमबाट व्यक्त अभिव्यक्तिले राष्ट्रियतालाई कमजोर बनाएको दाबी गर्नुभएको हो।
चालु आर्थिक वर्षको बजेटको रातो किताबमा युवा र विपन्न वर्गको हितलाई पूर्ण रूपमा उपेक्षा गरिएको सांसद मालको ठहर छ। निर्वाचनका समयमा जुन युवा र गरिब जनतालाई सबैभन्दा बढी प्रयोग गरी भोट बैंक बनाइयो, आज बजेट आउँदा उनीहरूलाई नै पाखा लगाइएको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीको सम्बोधनप्रति ठूलो आशा राखेका नागरिक अन्ततः निराश हुनुपरेको उहाँको भनाइ छ।
प्रधानमन्त्रीले गरिमामय सदनको रोष्टमबाट दिएको अप्रत्याशित जबाफको शैलीमाथि प्रश्न उठाउँदै सांसद मालले यस प्रकारको अभ्यास शङ्कास्पद रहेको बताउनुभएको छ। विगतमा स्थानीय तहको प्रमुख हुँदा कार्यालयमा ग्रेटर नेपालको नक्सा झुण्ड्याएर राष्ट्रियताको प्रचार गरेको स्मरण गराउँदै उहाँले अहिले संसद्मा राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभएको छ।
देशको प्रधानमन्त्रीले सदनमा बोल्दा कूटनीतिक मर्यादाको ख्याल गर्नुपर्नेमा जोड दिँदै सांसद मालले राष्ट्रियताका संवेदनशील विषयहरू संसद्मा हल्का रूपमा प्रस्तुत गर्ने नभई कूटनीतिक माध्यमबाट समाधान खोजिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। नयाँ शक्तिको नाममा जथाभाबी गर्ने र राष्ट्रघाती कदम चाल्ने छुट कसैलाई नहुने भन्दै उहाँले यस विषयमा संघीय संसद् मूकदर्शक बन्न नहुने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा सार्वभौम सदनसमक्ष माफी माग्नुपर्ने माग गर्नुभएको छ।





