जनकपुरधाम। जेष्ठ १८
नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित ब्राण्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने तय भएको छ।
होटलले उद्घाटनको अवसर पारेर तीनदिने वृहत् खाना प्रवद्र्धन कार्यक्रमसमेत आयोजना गर्ने भएको छ। होटल पौवा धनगढी शाखाका प्रबन्धक मनोज चन्दले दिएको जानकारी अनुसार उक्त महोत्सवमा सहभागी हुन धनगढीबाट होटलका अनुभवी सेफ तथा कर्मचारीहरूको विशेष टोली जनकपुरधाम प्रस्थान गर्ने तयारी गरेको छ। धनगढी शाखाको यस सहभागिताले सुदूरपश्चिमको रैथाने स्वादलाई मधेशको भूमिमा पस्कदै दुई प्रदेशबीचको सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।
होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले जनकपुरधाममा चारतारे स्तरको होटल विस्तार हुनु संस्थाको एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। उहाँका अनुसार यसले धार्मिक र आन्तरिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र आतिथ्य उद्योगको विकासमा समेत योगदान पुर्याउने अपेक्षा राखिएको छ। होटलमा ६२ वटा सुविधायुक्त कोठाका साथै स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल, जिम, साउना, स्टिम र स्पा लगायतका चारतारे होटलका आवश्यक पूर्वाधारहरू सञ्चालनमा आइसकेका छन्।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण आर्थिक वातावरणका बाबजुद संस्थाले देशव्यापी रूपमा सेवा विस्तार गरिरहेको बताउनुभयो। रूपन्देहीबाट सुरु भएको पौवाको यात्रा आज देशका विभिन्न भाग हुँदै जनकपुरधामसम्म आइपुगेको छ। होटलले सामूहिक लगानीको मोडेललाई आत्मसाथ गर्दै कर्मचारीहरूलाई समेत संस्थाको विकास यात्रामा साझेदार बनाएको भण्डारीको भनाइ छ।
प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार मिसन १०० अभियान अन्तर्गत होटलले आगामी दशकमा स्वदेश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति अघि सारेको छ। निकट भविष्यमै क्यासिनो सेवा समेत सञ्चालन गर्ने तयारी गरिरहेको होटल व्यवस्थापनले नेपाली स्वाद, संस्कार र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा २४सै घण्टा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाली आतिथ्य उद्योगमा एक राष्ट्रिय ब्राण्डका रूपमा स्थापित पौवाको जनकपुर विस्तारले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थप्ने देखिएको छ।





