श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रद्धारा गर्भवती महिलाहरुलाई पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मीरा श्रेष्ठ,

बेलाैरी, कञ्चनपुर

आज बेलौरी नगरपालिका वडा नं ४ मा स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले गर्भवती महिलाहरुलाई लक्षित गर्दै आफ्नो सभाहलमा एक दिने पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पोषण मैत्री पालिका घोषणा अभियान अन्र्तगत आज बेलौरी नगरपालिका वडा नं ४ का गर्भवती आमाहरुका लागि सो कार्यक्रम आयोजना गरिएको कार्यक्रमको अध्यक्षतामा रहनुभएका स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर विष्टले बताउनुभयो ।

उहाँले गर्भ अवस्था संवेदनशील अवस्था रहेको बताउदै गर्भवती आमाहरुले आफु तथा पेटमा रहेको बच्चाको लागि आवश्यक हुने पोषण तत्वको उपभोग गर्नुपर्ने कुरामा विशेष जोड दिदै स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने सेवा सुविधा तथा नियमित गर्भ जाँच गर्नुपर्ने कुरा बताउनुभयो ।

 

स्वास्थ्य केन्द्रबाट दिईने सेवा सुविधाको विषयमा चित्त नबुझेको अवस्थामा समेत सम्बन्धित निकायमा खबरदारी गर्न सकिने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा सहजीकरणको भूमिकामा रहनुभएका वरिष्ठ अनमी सिता रानाले पोषणका विविध आयामबारे चर्चा गर्नुभयो । आमाले स्वस्थकर खाना खानुपर्ने र स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट दिईने क्याल्सियम र आईरन चक्की नियमित सेवन गर्नुपर्ने उहाँको भनाई थियो ।

‟अझै पनि कतिपय गर्भवती आमाहरुले आईरन चक्की र क्याल्सियमको सेवन नगरेको हामी पाउछौँ यद्यपि त्यस्तो अवस्था पहिलाको भन्दा धेरै नै घटेको छ तर कोहि पनि गर्भवती आमाले यस्तो गर्नहुन्न नत्र भने आमाको शरीरलाई चाहिने पोषण तत्व नपुगेर रक्तअल्पता र स्वयम् बच्चाको वृद्धि विकासमा समेत नराम्रो असर पर्छ”, उहाँले बताउनुभयो ।

त्यस्तै अर्का वरिष्ठ अनमी उत्तरा कुँवरले गर्भ अवस्थादेखि नै मानिसको शरीरमा पोषण तत्वको परिपूर्ति गरेको खण्डमा समग्र मानव जीवन चक्र सुरक्षित हुने भन्दै यस अवस्थामा गर्भवती आमाहरुले खाने खाना सन्तुलित हुनपर्ने जिकिर गर्नुभयो । स्थानीय स्तरमा उत्पादित अर्गानिक तरकारी, फलफुल, दुध दही तथा माछामासुको सन्तुलित आहार उपभोग गर्नुपर्ने उहाँको भनाई थियो ।

मानिसको शरीरको ८० % विकास गर्भ अवस्थादेखि लिएर शिशु जन्मेको दुई वर्ष पुरा हुदाको दिनसम्म हुने भएकाले यस अवस्थालाई सुनौँला हजार दिन भनिने भएकाले यस समयमा विशेष पोषणयुक्त खाना आमा र बच्चा दुवैले सेवन गर्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा आज बेलौरी नगरपालिका वडा नं ४ का गर्भवती महिलाहरु, वडा नं ४ अन्तर्गतका महिला स्वास्थ्य स्वंयसेविका र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ