बेलौरी नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९४ करोड ५५ लाखको बजेट प्रस्ताव, वडा स्तरमा ३ करोड १५ लाख विनियोजन

बेलौरी, कञ्चनपुर

असार १०, २०८३

बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ९४ करोड ५५ लाख रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम नगर सभामा सार्वजनिक गरेको छ। प्रस्तुत विवरण अनुसार नगरपालिकाले चालु खर्चतर्फ ठूलो हिस्सा विनियोजन गरेको छ भने विकास निर्माण (पूँजीगत) तर्फ तुलनात्मक रूपमा कम बजेट छुट्ट्याएको छ। कुल बजेटमध्ये चालु खर्चतर्फ ७३ करोड ८५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ७८.११ प्रतिशत हुन आउँछ। यसैगरी, पूँजीगत (विकास) खर्चतर्फ २० करोड ६९ लाख ७६ हजार रुपैयाँ अनुमान गरिएको छ, जुन कुल बजेटको २१.८९ प्रतिशत मात्र हो। नगरपालिकाले चालु खर्चलाई वाञ्छित सीमाभित्र राखी पूँजीगत खर्च बढाउने नीति लिइने दाबी समेत गरेको छ।

नगरपालिकाले आगामी वर्षका लागि तय गरेको आम्दानीका वैधानिक स्रोतहरूमा सामाजिक सुरक्षाबाट २२ करोड रुपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ४४ करोड १६ लाख रुपैयाँ, र राजश्व बाँडफाँडबाट १२ करोड ६० लाख ३८ हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ। यसका साथै अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट ८ करोड २८ लाख ६२ हजार रुपैयाँ, आन्तरिक आयबाट ५ करोड रुपैयाँ, सरी आएको मौज्दातबाट २ करोड रुपैयाँ, र सडक बोर्डबाट ५० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ।

स्थानीय विकास र वडा तहका योजनाहरूलाई व्यवस्थित गर्न नगरपालिकाले वडा स्तरीय योजनाहरूका लागि कुल ३ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा वडा नम्बर १ का लागि २४ लाख १० हजार रुपैयाँ, वडा नम्बर २ का लागि ३४ लाख १० हजार रुपैयाँ, वडा नम्बर ३ का लागि २५ लाख १० हजार रुपैयाँ, वडा नम्बर ४ का लागि ३५ लाख १० हजार रुपैयाँ, र वडा नम्बर ५ का लागि ३३ लाख १० हजार रुपैयाँ छुट्ट्याइएको छ। यसैगरी वडा नम्बर ६ का लागि ३२ लाख १० हजार रुपैयाँ, वडा नम्बर ७ का लागि २८ लाख १० हजार रुपैयाँ, वडा नम्बर ८ का लागि ३६ लाख १० हजार रुपैयाँ, वडा नम्बर ९ का लागि ३३ लाख १० हजार रुपैयाँ, र वडा नम्बर १० का लागि ३४ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। नगर स्तरिय योजना तथा नगर गौरवको कार्यक्रमका लागि भने छुट्टै २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ