पुनर्बास, कञ्चनपुर।
कञ्चनपुरको पुनर्बास नगरपालिका १० विकासबस्तीमा सडक नालाको ढल थुनिएर स्थानीयको घरभित्र पानी पसेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरेको छ। बिहीबार बिहान सडक नालाको पाइपमा पानी जम्मा भई स्थानीय ४५ वर्षीय केवट रानाको कच्ची घरमा बाढी पसेपछि सशस्त्र प्रहरीले खाद्यान्न तथा लत्ताकपडा सुरक्षित स्थानमा सारेको हो।

बिहान साढे आठ बजेको समयमा सडकको नालामा पानीको निकास अवरुद्ध हुँदा रानाको टिनले छाएको कच्ची घरभित्र करिब दुई फिटसम्म पानी जमेको थियो। घरभित्र पानी पसेर खाद्यान्न र लत्ताकपडा नष्ट हुने जोखिम बढेपछि स्थानीय बासिन्दाले सुरक्षा निकायलाई खबर गरेका थिए। विकासबस्ती क्षेत्रमा ढल व्यवस्थापनको उचित प्रबन्ध नहुँदा सामान्य वर्षा र पानीको बहावमा पनि यस्तो समस्या निम्तिने गरेको स्थानीय बासिन्दाको भनाइ छ।
घटनाको जानकारी पाउनासाथ सीमा सुरक्षा चौकी (बिओपी) दोधाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको नेतृत्वमा १० जनाको उद्धार टोली तत्काल कार्यक्षेत्रमा खटिएको थियो। सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा घरभित्र रहेका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामानहरू सुरक्षित रूपमा छिमेकीको घरमा स्थानान्तरण गरेको छ। सशस्त्र प्रहरीको समयमै पुगेको टोलीका कारण ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ।
उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरी सशस्त्र प्रहरीको टोली बिहान पौने १० बजे आफ्नो चौकीमा फिर्ता भएको थियो।





