संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई कृषि विकास बैंकको आर्थिक सहयोग

बेलौरी (कञ्चनपुर), १९ असार ।

कृषि विकास बैंक लिमिटेड बेलौरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्याम्पस परिसरमा अवस्थित बगैँचामा रेलिङ निर्माणका लागि बैंकले एक लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

क्याम्पस परिसरमा आयोजित एक विशेष समारोहका बीच कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक हिमलाल श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्रसिंह विष्टलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बैंकले व्यावसायिक मुनाफा आर्जन गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र पर्यावरणको क्षेत्रमा योगदान पुर्‍याउन पाउँदा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज जोशीले स्वागत मन्तव्य राख्दै क्याम्पसको सौन्दर्यकरण र भौतिक सुधारका लागि बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले प्राप्त सहयोगको उचित सदुपयोग गर्दै क्याम्पसको वातावरणलाई थप व्यवस्थित र सुरक्षित बनाइने प्रतिबद्धता समेत जनाउनुभयो ।

समारोहमा बेलौरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भोजराज चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पल्लवराज भट्ट, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति दीपक चौधरी र प्राध्यापक प्रतिनिधि हरिप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । उहाँहरूले क्याम्पसको विकासमा स्थानीय वित्तीय संस्थाहरूको यस्तो सहकार्य प्रशंसनीय रहेको र यसले शैक्षिक वातावरण सुधारमा दीर्घकालीन महत्त्व राख्ने धारणा व्यक्त गर्नुभयो ।

बैंकका तर्फबाट नारद बोकटी, बेलौरी शाखा प्रमुख कृष्णानन्द जोशी र जितेन्द्र चौधरी समेत सहभागी रहनुभएको उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक तारामणी न्यौपानेले गर्नुभएको थियो । सञ्चालक समिति अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमले स्थानीय स्तरमा शैक्षिक संस्था र वित्तीय क्षेत्रबीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाएको विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ