धनगढी, ३१ भदौ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशभर विभिन्न कार्यालयमा दरबन्दीभन्दा बाहिर कार्यरत ३६ जना सवारी चालकहरूलाई तत्काल सम्बन्धित कार्यालयमा फर्कन कडा निर्देशन जारी गरेको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले कुनै पनि बाहना नबनाई आगामी ४८ घण्टाभित्र आ आफ्नो दरबन्दी भएको कार्यालयमा रमाना भई हाजिर हुन मातहतका निकायलाई निर्देशन दिनुभएको हो।
विभिन्न कार्यालयहरूमा चालकहरूको आवश्यकता, प्रशासनिक व्यवस्थापन तथा सेवा प्रवाहको सहजतालाई ध्यानमा राख्दै यो निर्णय लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। लामो समयदेखि दरबन्दीभन्दा अन्यत्र कार्यरत रहँदा कार्यसम्पादनमा प्रभाव परेको देखिएपछि प्रहरी नेतृत्वले यस विषयमा विशेष कदम चालेको हो।
यससम्बन्धी विषयमा जानकारी दिँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भट्टराईले आवश्यकताका आधारमा दरबन्दी भएका स्थानहरूमा चालकहरूको पदपूर्ति गर्नुपर्ने भएकाले यो निर्देशन दिइएको स्पष्ट पार्नुभएको छ। आवश्यकतानुसार कोही दरबन्दीमै रहेका र कोही अन्यत्र काजमा रहेका अवस्थालाई दृष्टिगत गर्दै सबैतिर जनशक्ति व्यवस्थित गर्न यो कदम चालिएको हो।
तोकिएको समयसीमाभित्र निर्देशनको पालना नगर्ने वा आनाकानी गर्ने कर्मचारीहरूलाई प्रचलित नियम अनुसार विभागीय कारबाही गरिने चेतावनी समेत दिइएको छ। प्रहरी सङ्गठनभित्र सुशासन, पारदर्शिता र प्रशासनिक अनुशासनलाई सुदृढ बनाउने उद्देश्यले चालिएको यस कदमले प्रदेशका विभिन्न कार्यालयहरूमा जनशक्ति व्यवस्थापन सहज भई सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।





