२०८१ मंसीर २, आईतबार
कञ्चन आवाज संवाददाता, मंसीर २
धनगढी– नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आज ट्यालेन्ट हन्ट सम्पन्न गरेसँगै भोलि (सोमबार) बिहान ९ बजे र्याली गर्ने भएको छ । र्याली धनगढीको चौराहा बाट रङ्गशालासम्म रहनेछ । र्यालीमा सहभागी भई खेलाडीको हौसला बढाउनको लागि रोयल्सको सामाजिक सञ्जाल फेसबुक पेजबाट समेत समस्त सुदूरपश्चिमेली क्रिकेट प्रेमीलाई आव्हान गरिएको छ ।
रोयल्सको अनुसार धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण गरेपछि टिम आउदो मंसीर १५ गतेबाट आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागीका लागि काठमाडौँ प्रस्थान गर्नेछ । टिम मालिकको रुपमा स्वतन्त्र प्रताप शाह छन् भने मार्की खेलाडी सुदूरपश्चिम प्रदेशका दिपेन्द्र सिंह ऐरी छन् । सुदूरपश्चिमका खेलाडीलाई विशेष केन्द्रित गरि तयार पारिएको टिमबाट आशातीत नतिजा ल्याउनेमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहको जिकिर छ ।
यस टिममा ४ जना विदेशी खेलाडी क्रमश ः रोहन मुस्तफा (युएई), सेफ अलि जेव (इंग्ल्याण्ड), ब्रान्डन मक्मलेन (स्कटल्याण्ड) र स्कट कुगेलेइन (न्युजिल्याण्ड) छन् भने अक्सन मार्फत् ल्याईएका खेलाडीमा नरेन साउद, इशान पाण्डे, भोजराज भट्ट, अमित श्रेष्ठ, अर्जुन कुमाल, नरेश बुढा ऐर, खडक बोहरा, अभिनास बोहरा, विनोद भण्डारी, आरिफ शेख लगायत छन् ।





