बेलौरी नगरपालिका वडा नं. ७ मा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

बेलौरी, फागुन २३ – बेलौरी नगरपालिका वडा नं. ७ मा एकदिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। संजीवनी अस्पताल धनगढी र वडा नं. ७ कार्यालयको समन्वयमा सञ्चालन गरिएको शिविर वडा अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो।

शिविरमा कुल ४१० जना सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा स्त्री रोग, हाडजोर्नी तथा नसा, जनरल ल्याप्रास्कोपिक सर्जरी, जनरल फिजिसियन तथा नाक–कान–घाँटीसम्बन्धी परीक्षण तथा परामर्श सेवा दिइएको थियो।

स्वास्थ्य सेवा दिने चिकित्सकहरूमा संजीवनी अस्पताल, धनगढीबाट आएका डा. जगदिश चन्द्र बिष्ट (स्त्री रोग विशेषज्ञ), डा. मोहन नाथ (हाडजोर्नी तथा नसा), डा. शंकर अधिकारी (ल्याप्रास्कोपिक सर्जन), डा. सुमन चौधरी (फिजिसियन) र डा. आयुस विष्ट  रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिका उप–प्रमुख जोगाराम चौधरी रहेका थिए। उनले वडा नं. ७ मा भौतिक विकासका कामसँगै स्वास्थ्य सेवामा सुधार ल्याउनु आवश्यक रहेको बताए। आफू स्वयं स्वास्थ्य क्षेत्रमा काम गरिसकेको अनुभवका आधारमा नगरवासीले भोगिरहेका समस्या प्रति पूर्ण जानकार रहेको र यस्ता शिविरहरू जनस्वास्थ्यमा प्रत्यक्ष लाभदायक हुने बताए।

विशिष्ट अतिथि महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र सिंह विष्टले आर्थिक रूपमा कमजोर नागरिकहरूका लागि सेवा प्राप्त गर्न धनगढी जानुपर्ने बाध्यता हटाई सेवा गाउँमै ल्याइएकोमा वडाको पहलप्रति कृतज्ञता व्यक्त गरे।

कुण्डा सव–डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले सामुदायिक वनका उपभोक्ताहरू रहेका ठाउँहरूमा यस्ता शिविरहरू सञ्चालन गर्न आफूले पहल गर्ने बताए। सामुदायिक वन समूहहरूले समाजसेवामूलक यस्ता कार्यहरूमा थप सक्रियता जनाउनु आवश्यक रहेको उनको भनाइ थियो।

वडा अध्यक्ष प्रकाश श्रेष्ठले आधारभूत स्वास्थ्य सेवा नपाएका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको जनाएका छन्। बेलौरी जस्ता ठाउँमा विशेषज्ञ डाक्टरहरूको सेवा नियमित रूपमा उपलब्ध गराउन सकिने अवस्था नहुँदा यस्ता शिविरहरू अत्यन्तै उपयोगी हुने उनको भनाइ थियो। उनले संजीवनी अस्पताललाई विशेष धन्यवाद दिएका छन्।

शिविरमा सहभागी भएका सेवाग्राहीहरूले गाउँमै विशेषज्ञ डाक्टरहरूमार्फत स्वास्थ्य परीक्षण तथा औषधि सेवा पाउँदा सन्तुष्टि व्यक्त गरेका छन्। धेरैले यस्तो सेवा बेला–बेला दोहोरिनुपर्ने मागसमेत राखेका छन्।

कार्यक्रममा बेलौरी वडा नं. ८ का अध्यक्ष बिषराम राना, विभिन्न संघसंस्था प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन समाजसेवी तथा शिक्षक तेज बहादुर चन्दले गरेका थिए।

स्थानीय सरकारको समन्वय, निजी अस्पतालको सामाजिक उत्तरदायित्व, र समुदायको सक्रियता मिलेर सम्पन्न भएको यो शिविर ग्रामीण क्षेत्रको लागि स्वास्थ्य सेवा पहुँचमा उदाहरणीय पहलको रूपमा रहन गएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ