केशव भट्ट, वैशाख १६, कञ्चनपुर। भारतसँग खुला सीमा जोडिएको कञ्चनपुरमा अहिले शैलेश्वरी गणको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टको नेतृत्वमा सुरक्षा कडा हुँदै राजस्व संकलनमा अभूतपूर्व सुधार देखिएको छ।
भट्टले फागुनमा कमाण्ड सम्हालेयता फागुन–चैत्र अवधिमा मात्रै २ करोड २७ लाख ९ हजार ६ सय ११ राजस्व संकलन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिमा ५४ लाख ७० हजार ८ सय ७५ मात्रै थियो।

अवैध तस्करी नियन्त्रणसँगै लागूऔषध बरामदमा पनि उल्लेखनीय वृद्धि भएको छ। २०८० सालको फागुन–चैत्रमा जम्मा १ ग्राम १९० मिलिग्राम मात्र लागूऔषध बरामद भएकोमा, यस वर्ष सोही अवधिमा ७७ ग्राम ७८० मिलिग्राम बरामद गरिएको छ।

सशस्त्र प्रहरीको सतत् गस्ती र सुदृढ निगरानीका कारण सीमावर्ती सुरक्षा प्रणालीमा जनविश्वास बढेको र सरकारी आम्दानीमा ठोस टेवा पुगेको स्थानीय प्रशासन तथा व्यवसायीहरूले बताएका छन्।








