बेलौरी, कञ्चनपुर, २९ बैशाख — कुण्डा सब डिभिजन वन कार्यालय अन्तर्गत बेलौरी नगरक्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरूको नियमित मासिक बैठक सोमबार सिंहपाल सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा सम्पन्न भएको छ। बैठक सिंहपाल समूहका अध्यक्ष पविराम चौधरीको अध्यक्षतामा बसेको हो । प्रमुख अतिथि कुण्डा सब डिभिजनका प्रमुख तथा वन अधिकृत दिनेश कुमार यादवसहित सीतानगर, रामघाट, अमर स्मृति, पारिजात, गोरखनाथ, रामनगर, पुष्पलाल स्मृति र सिंहपाल समूहका अध्यक्ष-सचिवहरू तथा बेलौरी–७ का वडा सदस्य कमानसिंह चौधरी बैठकमा सहभागी थिए ।

प्रत्येक समितिले आफ्नो वनको प्रगति विवरण र चुनौती पेश गरेका थिए। वडा सदस्य कमानसिंह चौधरीले वन संरक्षण र स्रोतको सन्तुलित उपयोगमाथि चर्चा गर्दै, “वन नभएपछि जीवन नै कठिन हुन्छ; संरक्षण र उपभोग सँगसँगै अघि बढ्नुपर्छ,” भन्नुभयो । उहाँले चराचुरुङ्गी संरक्षण तालिमप्रति पनि कृतज्ञता व्यक्त गर्नुभयो ।

कृष्णपुर नगरपालिकाको सीता सामुदायिक वनका अध्यक्ष तथा जिल्लास्तरीय समन्वय उपाध्यक्ष पुनाराम चौधरीले कानुनी व्यवधान समाधानका लागि यस्ता सामूहिक छलफल उपयोगी हुने बताए । डढेलोको जोखिम उच्च भएकाले छोटो र दीर्घकालीन उपाय आवश्यक भएको उल्लेख गर्दै, “ वनको आम्दानीलाई सीधा रोजगारी सिर्जनासँग जोड्नै पर्छ,” उहाँले जोड दिनुभयो ।

बेलौरी नगरपालिका वडा नं ५ का अध्यक्ष तथा रामनगर सामुदायिक वनका सचिव लालबहादुर चौधरीले यस वर्ष डढेलोको समस्या नरहेकामा सन्तोष व्यक्त गर्दै, “पहिलेको तुलनामा डढेलो घटेको छ, यसमा वन अधिकृत यादवज्यूको सक्रियता प्रशंसनीय छ,” भन्नुभयो।

समूहले आ–आफ्नो प्रगति प्रतिवेदन र समस्या प्रस्तुत गर्दा वन अधिकृत यादवले वन व्यवस्थापनमा स्थानीय तहको महत्त्वलाई औँल्याउँदै, “स्थानीय सरकार, उपभोक्ता समिति र कार्यालय त्रिपक्षीय सहकार्य नभई दिगो वन सम्भव छैन,” भन्नुभयो । उहाँले पातपतिङ्गर सङ्कलन गरी प्राङ्गणिक मल उत्पादन गर्न, फाईर लेन बनाउने र वन सीमाना विवाद शीघ्र समाधानमा जुट्न निर्देशन दिनुभयो ।

बैठकले आगामी जेठ महिनामा अमर स्मृति सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अर्को मासिक बैठक बस्ने निर्णय गरेको छ।








