मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
बेलौरी नगरपालिका वडा नं ४ मा आज ‘क्षयरोग मुक्त नेपाल अभियान’ सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारले देशभर जम्मा ५४% जसो क्षयरोगका बिरामीहरूलाई उपचारको प्रक्रियामा ल्याउन सकेकोमा सकेकोमा आ.व.२०७८/०७९ देखि आ.व. २०८२/०८३ भित्र सो प्रतिशतलाई सत प्रतिशतमा पुर्याउनको लागि पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य राखेर यो अभियान हाल कञ्चनपुरसम्म आइपुगेको बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जय सिंह बोहराले बताए।

“नेपाल सरकारले २०७८/०७९ मा देशभरका ७५३ स्थानीय तहमध्ये २५ वटा स्थानीय तहमा यो अभियान सुरु गर्यो। त्यसपछि अहिलेको दोस्रो लटमा थप १०० स्थानीय तह समेटेकोमा हाम्रो कञ्चनपुर जिल्ला पर्न गएको छ।” उनले थप भने, “जिल्ला भित्र पनि यो अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम कृष्णपुर र लालझाडीपछि हाम्रो बेलौरी नगरपालिका तेस्रो पालिका भएको छ।”

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर चन्दले पालिकामा क्षयरोगका बिरामीको पहिचान गर्ने र उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे फलोअप गर्दै क्षयरोग सम्बन्धी जनचेतना फैलाउने उद्देश्य स्वरूप यो अभियान सुरु भएको जानकारी दिए।

“वडागत तहबाट क्षयरोगको निदान तथा जनचेतनामूलक सन्देश प्रचारप्रसार गर्न सकिए बिस्तारै पालिका, प्रदेश हुदै केन्द्रगत तहमा क्षयरोग मुक्त नेपाल निर्माण गर्न सकिन्छ”, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द सिंह विष्टको जिकिर थियो। “क्षयरोगको बिरामीहरूका लागि गोपनियता सहितको निःशुल्क उपचार व्यवस्था भएको हुदा यसको लक्षण देखा परे या कुनै शङ्का लागे स्वास्थ्य संस्थामा आउनुहोला”, विष्टको अनुरोध थियो।

वडाका जनपतिनिधि, स्वास्थ्य व्यवस्थापन समिती, स्वास्थ्यकर्मी, विद्यालय, युवा क्लब, भलमन्सा, आमा समुह लगायत समाजसेवि जस्ता नागरिक समाजका प्रतिनिधिको समावेशितामा सम्पन्न भएको सो कार्यक्रममा अभियान अन्तर्गत वडा स्तरीय समिति समेत गठन गरिएको थियो ।
जसमा वडा अध्यक्षको संयोजकत्व तथा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सदस्य सचिव रहने गरि २५ सदस्यीय समिती पारित भयो ।






